झापा । एएफसी महिला एसियन कप २०२२ छनोटको पहिलो खेलमा नेपालले अन्तिम मिनेट सम्हालिन नसक्दा जीतबाट वञ्चित हुनु परेको छ ।

आज भएको फिलिपिन्सविरुद्धको खेलमा नेपाल १ गोलले अगाडि थियो । तर, निर्धारित खेलको अन्तिम मिनेटमा फिलिपिन्सले गोल फर्काउँदै विजेता बन्यो । उज्वेकिस्तानको जेएआर स्टेडियममा भएको खेलमा नेपाल २-१ गोल अन्तरमा पराजित भएको हो ।

नेपालका लागि खेलको १०औं मिनेटमा विमला चौधरीले गोल गर्दै अग्रता दिलाएका थिइन्। सविता रानाको क्रसमा विमलाले हेडमार्फत उत्कृष्ट गोल गरिन् ।

तर, विमला ३९ औं मिनेटमा चोट बोक्दै मैदानबाट बाहिरिएकी छिन् । विमलाको स्थानमा अनिता बस्नेत मैदान प्रवेश गरेकी थिइन् ।

दोस्रो हाफमा दबाब झेलेको नेपालमाथि अन्तिम ३ मिनेटमा फिलिपिन्सले २ गोल गर्न सफल भयो । खेलको ८९औँ मिनेटमा फिलिपिन्सकी थान्नाइ अन्निसले गोल गर्दै खेललाई बराबरीमा पुराएकी थिइन् ।

थप गरिएको ५ मिनेटमा फिलिपिन्सले थप गोल गर्दै जीत निश्चित गर्यो । उसका लागि क्यामिली विल्सनले ९२औँ मिनेटमा निर्णायक गोल गरिन् ।

दोस्रो हाफमा रणनीति परिवर्तन गर्दै मैदान उत्रेको फिलिपिन्सले नेपाली टिमलाई अन्तिमसम्म दबाबमा राख्यो । पटक पटकको आक्रमणपछि उनीहरु सफल भए ।

डिफेन्सिफ खेलेको नेपालका खेलाडीहरु अन्त्यतिर थकित देखिन्थे । झण्डै हाफ ग्राउण्ड खेलेका फिलिपिनो खेलाडीको अधिक आक्रमणका कारण नेपाली गोलरक्षक एन्जिला सुब्बा पनि दबाबमा खेलेकी थिइन् ।

नेपालका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले रेनुका नगरकोटीको कप्तानीमा फिलिपिन्सविरुद्ध खेल्ने सुरुवाती ११ यस्तो थियो ।

गोलकिपरः अन्जिला सुब्बा

डिफेन्डरः हिरा कुमारी भुजेल, अमृता जैशी, गीता राना

मिडफिल्डरः पूजा राना, रेनुका नगरकोटी, सरु लिम्बु, मन्जली कुमारी योन्जन

फरवार्डः प्रिती राई, सबिता राना, विमला चौधरी