काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टिमले सन् १९८६ मा हङकङमा भएको एफसी वुमेन्स च्याम्पियनसिपमार्फत अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेको थियो । पहिलो खेल थियो हङकङविरुद्ध । जहाँ नेपाली टिम १-० ले हारेको थियो ।

सन् १९८९ को च्याम्पियनसिपमा हङकङले नेपाललाई ३-० ले हरायो । यी दुई टिम ३२ वर्षपछि मंगलबार उज्वेकिस्तानको तास्केन्दस्थित जेएआर रंगशालामा प्रतिस्पर्धा गर्दैछन् ।

नेपाली महिला टिमले तीनपल्ट (सन् १९८६, १९८९ र १९९९) एसियन च्याम्पियनसिप खेलेको थियो । त्यसबेला छनोट खेल्नुपर्ने व्यवस्था थिएन, सिधै च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न पाउने प्रावधान थियो ।

पछिल्लोपल्ट एसियन च्याम्पियनसिप खेलेको ११ वर्षपछि नेपाली टिम अन्तर्राष्ट्रिय फुटबलमा फर्कियो ११औं दक्षिण एसियाली खेलकुद (साग २०१०) बाट । एसियन कपमा छनोट खेल्ने व्यवस्था ल्याइएपछि यसपालि नेपाल महादेशीय च्याम्पियनसिपमा फर्कियो । यसै अवसरमा नेपालले हङकङविरुद्ध प्रतिस्पर्धा गर्न लागेको हो ।

उज्वेकिस्तान जानुअघि नेपाली टिमले अस्ट्रेलियन प्रशिक्षक ग्यारी फिलिप्सको नेतृत्वमा २२ वर्षपछि महिला फुटबलमा एसियाकै सर्वोच्च प्रतियोगिता ‘एएफसी वुमेन्स एसियन कप’ खेल्ने लक्ष्य राखेको थियो । तर, पहिलो खेलमै शनिबार फिलिपिन्ससँग हारेपछि लक्ष्यमा पुग्न नेपाललाई कठिन भएको छ ।

विमला चौधरीको गोलमा दसौं मिनेटमै अग्रता लिएर पनि नेपाली टिम अन्त्यतिर सम्हालिन नसक्दा २-१ ले हारेको थियो । फिफा वरीयतामा ३३ स्थानमाथिको प्रतिस्पर्धीले ९० र इन्ज्युरी समयको दोस्रो मिनेटमा गोल गरेको थियो । त्यसैले नेपाली टिम जापानको पहिलो श्रेणीको महिला लिगमा आवद्ध दुई फिलिपिनो खेलाडी अनुपस्थितिको फाइदा लिँदै अंक जोड्न चुक्यो ।

गोलकर्ता विमलाले पहिलो हाफ र डिफेन्डर पूजा रानाले दोस्रो हाफमा चोटका कारण मैदान छाड्न बाध्य भएपछि नेपाली टिम समस्यामा परेको थियो । दोस्रो हाफमा नेपाली खेलाडीहरू थाकेजस्तो देखिए । त्यसैले एसियन कप २०१८ मा छैटौं स्थानमा रहेको फिलिपिन्सको पुनरागमन जित सम्भव बनाइदियो ।

फिलिपिन्सको लक्ष्य आउने जनवरी–फेब्रुअरीमा हुने एसियन कप खेल्नेमात्रै होइन, सन् २०२३ को विश्वकपमै छनोट हुने हो । त्यसैले फिलिपिन्सविरुद्ध नेपाललाई गाह्रो हुने अनुमान गरिएकै थियो ।

चोटकै कारण गुमाएकी ‘गोल मेसिन’ सावित्रा भण्डारीको अभाव छनोटको पहिलो खेलमा देखिएको थियो । उनको अनुपस्थितिमा दशरथ रंगशालामा अघिल्लो साता भएका दुई मैत्रीपूर्ण खेलमा नेपालको अग्रपंक्ति निकै फितलो साबित भएको थिया ।

बंगलादेशविरुद्ध अपराजित यात्रा कायमै राखे पनि नेपालले पहिलो खेलमा २-१ को संघर्षपूर्ण जित हात पारेको थियो भने दोस्रो खेल गोलरहित टुंग्याएको थियो । तैपनि नेपाली टिमले फिलिपिन्सविरुद्ध गरेको प्रदर्शनको आधारमा मंगलबार हङकङविरुद्ध राम्रो नतिजा अपेक्षा गर्नसक्ने ठाउँ दिएको छ । यो समाचार कान्तिपुर दैनिकमा छ ।