काँकरभिट्टा । दोस्रो संस्करणको ‘मेचीनगर युवा कप २०७८’ को उपाधि ह्याप्पी क्लबले जितेको छ ।

काँकरभिट्टा माविको खेल मैदानमा शुक्रबार सम्पन्न फाइनलमा भानु टोल फुटबल क्लबलाई ३-० गोत अन्तरले पराजित गर्दै ह्याप्पीले उपाधि हात पारेको हो ।

उपाधिसँगै ह्याप्पी क्लबले नगद ३० हजार रुपैयाँ, ट्रफी तथा मेडल प्राप्त गरेको छ । उपविजेता भानुले नगद २० हजार रुपैयाँ, ट्रफी तथा मेडल प्राप्त गरेको छ ।

प्रतिस्पर्धात्मक खेलमा ह्याप्पी क्लबले खेलको छैटौं मिनेटमा आशिष चापागाईंको गोलमार्फत अग्रता बनाएको थियो । दोस्रो हाफको छैटौं मिनेटमा कर्ण लिम्बूले टिमका लागि दोस्रो गोल गरे । दोस्रो हाफकै १७औं मिनेटमा विवेक पौडेलले तेस्रो गोल गर्दै ह्याप्पी क्लबलाई विजयी बनाए ।

फाइनल खेलको म्यान अफ दी म्याच आशिष चापागाईं घोषित भए । त्यस्तै प्रतियोगिता भरकै उत्कृष्ट खेलाडी भानु क्लबका सौरभ लिम्बू बने ।

उदीयमान खेलाडीको अवार्ड भानुका किसन सरदारले जित्दा प्रतियोगिताको उत्कृष्ट गोल रक्षक ह्याप्पी क्लबका देवान भुजेल बने । वेष्ट मिड फिल्ड ह्याप्पीका विवेक पौडेल घोषित हुँदा भानुका दिवस उराव वेष्ट डिफेन्स घोषित भए ।

वेष्ट फरवार्डको उपाधि ह्याप्पीका कर्ण लिम्बू घोषित हुँदा ह्याप्पीकै मुना सुब्बा उत्कृष्ट कोच घोषित भए । पुरस्कार वितरण कार्यक्रमको सञ्चालन युवा संघ क्षेत्रीय इन्चार्ज नारायण खनालले गरेका थिए ।

युवा समाजसेवी बालकृष्ण थापाले पहिलो पुरस्कार प्रायोजन गरेका थिए भने दोेस्रो पुरस्कार नेपाल खेलकुद महासंघले गरेको थियो । राष्ट्रिय युवा संघ नेपाल मेचीनगर नगर कमिटिले आयोजना गरेको फुटबल प्रतियोगितामा नगरका २० टिम सहभागी थिए ।

यसअघि शुक्रबार नै सम्पन्न आयोजक तथा प्रेस क्लब मेचीनगरबीच सम्पन्न मैत्रीपूर्ण खेलमा आयोजक ३-० गोल अन्तरले विजयी भएको थियो ।