काठमाडौं । काठमाडौं किङ्स ११ ले चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटमा विजयी सुरुवात गरेको छ ।

टियु क्रिकेट मैदानमा शनिबार भएको उद्घाटन खेलमा साविक विजेता ललितपुर प्याट्रीयट्सलाई ७ विकेटले पराजित गर्दै काठमाडौंले सुखद सुरुवात गरेको हो ।

ललितपुरले दिएको १ सय ५८ रनको लक्ष्य काठमाडौंले १४ ओभर २ बलमा ३ विकेट गुमाएर पूरा गर्यो । काठमाडौंको जितमा रायन बर्ल र रहमानउल्लाह गुर्बाजले अर्धशतकीय इनिङ्स खेले ।

रायनले अविजित रहदै ७३ रन जोडे । उनले ३४ बलमा ३ चौका र ७ छक्का प्रहार गरे । उनी प्लेयर अफ दि म्याच समेत चुनिए । गुर्बाजले ३६ बलमा ४ चौका र ४ छक्कासहित ५९ रन बनाए ।

यस्तै राजु रिजाल १९ रनमा अविजित रहे । अमित श्रेष्ठ ४ तथा सुवास खकुरेल सुन्य रनमा आउट भए । ललितपुरका पवन सर्राफले १ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५७ रन बनाएको थियो ।

ललितपुरका लागि पवन सर्राफले ६१ रनको अर्धशतकीय इनिङ्स खेले । पहिलो बलमै कप्तान कुशल भुर्तेललाई सुन्य रनमा गुमाएको ललितपुरका लागि पवनले ४४ बलमा ५ चौका र ४ छक्का प्रहार गरे ।

यस्तै योगेन्द्र सिंह कार्कीले ३३ रन जोड्दा शंकर रानाले १४ रन बनाए । भुटानी खेलाडी रनजुङ मिक्यो दोर्जीले अविजित १७ रन जोड्दा नारायण जोशीले १२ रन बनाए ।

ओशाडा फर्नान्डो ४ रन संदन विराकोडे २ तथा राशिद खान १ रनमा आउट भए । ललित राजवंशी सुन्य रनमा अविजित रहे । काठमाडौंका जितेन्द्र मुखियाले ४ विकेट लिए । रायन बर्ल र गुलशन झाले २र२ विकेट लिए ।

काठमाडौंका कप्तान सन्दीप लामिछाने र शाहिद अफ्रिदीले विकेट लिन सकेनन् । यस जितसँगै काठमाडौंले पहिलो खेलमा २ अंक जोडेको छ । ललितपुरले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।

प्रतियोगिता अन्तर्गत आइतबार दुई खेल हुनेछ । पहिलो खेलमा विराटनगर वारिवर्स र चितवन टाइगर्स तथा दोस्रो खेलमा भैरहवा ग्लाडीयटर्स र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको विजेताले ५० लाख प्राप्त गर्नेछ । यस्तै उपविजेताले १५ लाख पाउने जनाएको छ ।