झापा बुधबारेस्थित बुद्ध आदर्श मावि । फाइल तस्वीर

झापा । कोरोना कहरका बीच लामो समयपछि विद्यालय खुलेको हप्ता दिन नपुग्दै बुद्धशान्ति गाउँपालिकाका विद्यालय बन्द हुने क्रम बढेको छ । यसै साता एक निजी र २ वटा सामुदायिक विद्याल बन्द भएका छन् ।

 

विद्यालय खुकेको तीन दिनपछि झापा बुद्धशान्तिको बुद्धआदर्श माविका शिक्षकलाई कोरोना सङ्क्रमण देखिएपछि विद्यालय बन्द भएको थियो ।

 

सो विद्यालय बन्द गरिएलगत्तै बुद्धशान्तिकै वडा नम्बर ५ शान्तिनगरमा रहेको निजी विद्यालय शान्ति निकेतन अंग्रेजी माविले समेत अधिकांश विद्यार्थीहरुमा कोरोनाको मिल्दोजुल्दो लक्षण देखिएका विद्यालय बन्द गरिएको सूचना मंगलबार जारी गरेको छ ।

 

त्यस्तै, बद्धशान्ति ६ स्थित श्री मावि बर्नेले समेत भौतिक उपस्थितिको कक्षाहरु बन्द गरेको जनाएको छ । विद्यालयका प्रधानाध्यापक चन्द्रप्रसाद उप्रेतीले विद्यालयमा दैनिक ज्वरो आउने विद्यार्थीको संख्या बढ्दै गएको तथा समुदाय एवम् विद्यालयमै जोखिमको तह बढेको पाइएकोले गाउँपालिका शिक्षा शाखा तथा विद्यालय व्यवस्थापन समितिसँगको समन्वयमा बुधबारबाट पठनपाठन बन्द गर्नु परेको बताए ।

बुद्धशान्ति ७ मा रहेको राष्ट्रिय विजय माविले समेत बिहीबारबाट भौतिक उपस्थितिको पठनपाठन बन्द गर्ने निर्णय गरेको विद्यालयका प्रधानाध्यापक शिवप्रसाद पौडेलले बताए ।

झापामा जिल्ला प्रशासन कार्यालयबाट भदौमा जारी गरिएको आदेशमा स्थानीय तहसँगको समन्वयमा विद्यालय सञ्चालन गर्न सकिने अधिकार प्रत्यायोजन भएसँगै झापाका अधिकांश स्थानीय तहले विद्यालय खुलाउन सकिने किसिमको निर्णय सार्वजनिक गरेका थिए ।

त्यही अधिकारको प्रयोग गर्दै एक हप्ताभित्रमा झापाका सबै पालिकाामा विद्यालयहरु भटाभट खुले । सो अवधिमा झापामा दैनिक दर्जनको संख्यामा कोरोना संक्रमित थपिँदै थिए । तर, यतिबेला झापामा कोरोना संक्रमण दैनिकरुपमा बढ्दो छ ।