इलाम । इलामको सूर्योदय नगरपालिकाको फिक्कलमा भोलिबाट कान्दुक भेट्रान फाइभ ए साइड फुटसल प्रतियोगिता सुरु हुँदैछ ।
कान्दुक रिक्रिएसन सेन्टरको आयोजना र सूर्योदय नगर खेलकुद विकास समितिको सहयोगमा असोज २३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा भारतका २ टिमसहित ८ टिमको सहभागिता रहेको छ ।
४० वर्षमाथिका भेट्रानबीच हुने प्रतियोगितामा भारत दार्जीलिङको २ टिमसहित सूर्योदय नगरपालिकाभित्रका ४ टिम तथा इलाम नगरपालिका र रोङ गाउँपालिकाको एक/एक टिमले सहभागिता जनाएका छन् ।
प्रतियोगितामा सुकिया भेट्रान्स दार्जीलिङ, इलाम भेट्रान्स, दार्जीलिङ भेट्रान्स, सूर्योदय भेट्रान्स, भेट्रान्स रोङ ११, आहाले भेट्रान्स, पेम्वा सेभेन र युनाइटेड भेट्रान्सले सहभागिता जनाउनेछन् । प्रतियोगिताको पहिलो दिन पहिलो चरणको ४ खेल हुनेछ ।
प्रतियोगिताको उद्घाटन खेलमा पाहुना टोली सुकियाले इलाम भेट्रान्सको सामना गर्दैछ । आहाले भेट्रान्सले पेम्वा सेभेन, सूर्योदय भेट्रान्सले भेट्रान्स रोङ ११ तथा दार्जीलिङ भेट्रान्सले युनाइटेड भेट्रान्सको सामना गर्ने तय भएको छ ।
कान्दुक रिक्रिएन सेन्टरको फुटसल मैदानमा हुने प्रतियोगिताको विजेताले ३५ हजार ५ र उपविजेताले १६ हजार ५ रुपैंयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
खेलको माध्यमबाट सूर्योदय नगरपालिका र पर्यटन प्रवद्र्धन हुने आयोजक कान्दुक रिक्रिसनका सञ्चालक रुपेन गुरुङले बताए । भेट्रान्सलाई समेत खेलकुदमा प्रेरित गराउनका लागि ४० वर्ष माथिकालाई सहभागी गराएर प्रतियोगिता आयोजना गरिएको उनले बताए ।
उनले निकट भविष्यमा त्रिदेशीय प्रतियोगिता आयोजनाको गरिने जानकारी दिए । यसअघि गत महिना सूर्योदय नगरपालिकास्तरीय फुटसल प्रतियोगिता आयोजना भएको थियो ।