माल्दिभ्स । साफ च्याम्पियनसिप फुटबल २०२१ बिहीबार रातिका खेलपछि रोमाञ्चक मोडमा पुगेको छ । फाइनल पुग्ने दुई टिमको समीकरण अझै ठ्याक्कै स्पष्ट हुन सकेको छैन । नेपालका लागि भने फाइनल पुग्ने समीकरण आफ्नै हातमा रहेको छ ।

 

प्रतियोगिताको चौथो खेल दिन दुई खेल छ । त्यसले लगभग उपाधिका लागि भिड्ने दुई टिमको निर्णय गर्न सक्नेछ । त्यो दिन पनि नतिजाले स्पष्ट दिशा दिएन भने निर्णयका लागि राउन्ड रोबिन लिगका अन्तिम दुई खेलको प्रतीक्षा गर्नुपर्ने हुन्छ ।

 

आइतबार हुने खेलमा नेपालले भारतको सामना गर्नेछ । त्यही दिन माल्दिभ्सले श्रीलंकाविरुद्ध खेल्नेछ ।

 

राउन्ड रोबिनका आधारमा चलिरहेको प्रतियोगितामा नेपाल २ खेलबाट ६ अंकसहित शीर्षस्थानमा छ । आइतबार हुने खेलले फाइनल पुग्ने दुई टिमको समीकरण तयार पार्न मद्दत गर्नेछ ।

 

बंगलादेश ४ अंकसहित दोस्रो स्थानमा छ भने माल्दिभ्ससँग ३ अंक छ । त्यसपछि भारतको २ अंकमा छ । श्रीलंका भने १ अंकमा सीमित छ । टोलीको प्रतियोगितामा चुनौती समाप्त भइसकेको छ ।

 

अबको खेलमा भारतलाई हराउने हो भने नेपाल सिधै फाइनल पुग्नेछ । अन्य नतिजामा भने नेपालले लिग चरणको अन्तिम दिनसम्म कुर्नुपर्नेछ । बिहीबार रातिको खेलमा आयोजक माल्दिभ्स विजयी रह्यो ।

 

टोलीले आफ्नो राष्ट्रिय दिवसका दिन बंगलादेशलाई २-० ले हराएर प्रतियोगितामा पुनरागमन गरेको हो ।

 

माल्दिभ्स आफ्नो पहिलो खेलमा नेपालसँग पराजित भएको थियो । बंगलादेशविरुद्धको खेल गुमाएको भए टोली प्रतियोगिताबाट बाहिरिने अवस्थामा हुन्थ्यो । इकान्तिपुरबाट