काठमाडौं । झापा भेट्रान्स क्लब मेयर कप भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको पहिलो सेमिफाइनलमा नेपाल आर्मी भेट्रान्स क्लबलाई २-० गोल अन्तरले हराउँदै झापा उपाधि नजिक पुगेको हो ।
झापाको जितमा भेषराज लिम्बु र श्यामकुमार गोलेले एक एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ४७औं मिनेटमा कप्तान भेषराजले गोल गर्दै झापालाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ६० औं मिनेटमा श्यामले गोल गर्दै झापालाई २-० को जित दिलाए ।

यसैगरी, एफई खुमलटार भेट्रान्स क्लब अन्तिम सेमिफाइनल खेलबाट मेयर कप भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
एसएनकेसीलाई २-० गोल अन्तरले पराजित गर्दै खुमलटार फाइनल पुगेको हो । खुमलटारलाई जित दिलाउन रितेश खड्का र जुमानु राईले एक एक गोल गरे ।

पाँचौं मिनेटमा रितेशले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यसपछि सातौं मिनेटमा जुमानुले गोल गर्दै खुमलटारलाई २-० को जित दिलाए । अब खुमलटारले उपाधिका लागि झापा भेट्रान्स क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
फुटबलर्स मिसन टुगेदरको आयोजनामा जारी प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार पाउने छन्।