फाइल तस्वीर ।

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग केही दिन पर सरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले कात्तिक २९ गतेका लागि तय लिगको मिति ४ दिन पर सारेको हो ।

 

यस सिजनको लिग मंसिर ३ गतेबाट सुरु हुने भएको छ । अब लिगका खेलहरु शुक्रबार, शनिबार र आइतबार मात्र खेलिने एन्फाले जनाएको छ ।

 

‘क्लबसँगको सल्लाहमा सप्ताहको अन्तिम तीन दिन लिगका खेल गर्ने भएपछि मिति केही दिन सरेको हो । अब लिगको सबै खेल शुक्रबार, शनिबार र आइतबार मात्र हुनेछ’, महासचिव इन्द्रमान तुलाधरले भने ।

 

 

एन्फाको अनुसार अर्को शुक्रबार मात्र लिग सुरु हुनेछ । उद्घाटन खेलमा सातदोबाटो युथ र फ्रेन्ड्स भिड्ने छन् ।

 

 

यसैबीच, एन्फाले बिहीबार मात्र लिगको प्रत्यक्ष प्रशारणका लागि कान्तिपुर टिभीसँग औपचारिक सम्झौता गरेको छ ।

 

‘प्रत्यक्ष प्रशारणको तयारीका लागि केही दिन टिभीले समेत मागेको र क्लबले समेत हप्तामा एक राउण्ड मात्र बिदाको दिन खेल गर्ने सहमति गरेकाले लिगको मिति सरेको हो’, तुलाधरले भने ।

 

एन्फाले विहीबार नै कान्तिपुर टेलिभिजनसँग प्रत्यक्ष प्रसारणका लागि सम्झौता पनि गरेको छ । कान्तिपुरले एक वर्षका लागि सम्झौता गर्दै लिगअन्तर्गत खेलहरू प्रत्यक्ष प्रसारण गर्नेछ ।