झापा । धरान सिटी एफसी सुनसरी यहाँ जारी प्रथम एनी फाक्तेप गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । सुरुवाती अग्रतालाई जोगाउन नसक्दा पथरी एफसी भने सेमिफाइनलबाटै बाहिरिएको छ ।
आज (बुधबार) भएको पहिलो सेमिफाइनल खेलमा पथरी एफसी मोरंगलाई २(१ गोलले पराजित गर्दै धरानले फाइनल यात्रा तय गरेको हो । धरानले १(० गोलले पछि परेको अवस्थालाई उल्टाउँदै फाइनलमा स्थान सुरक्षित गरेको हो । यसअघि इलामसँगको प्रतिस्पर्धामा पनि धरानले २(० को स्थितिलाई उल्टाउँदै सेमिफाइनलमा प्रवेश गरेको थियो ।
धरानका लागि मन्दिप राई र विवेक राईले गोल गरे भने पथरीका लागि सनम भुजेलले गोल गरेका थिए । पहिलो हाफको २४औँ मिनेटमा पथरीका लागि सनमले पहिलो गोल गरेका थिए । उनले हेडरमार्फत उत्कृष्ट गोल गरेका थिए ।
तर, ३१औँ मिनेटमा धरानका मन्दिप राईले पनि सम्झनलायक गोल गर्दै बराबरी गरेका थिए । त्यसक्रममा पाएको फ्रिकिकमा वर्तमान राईको प्रहारमा रहेको एयर बललाई हेड गर्दे मन्दिपले गोलपोष्टको दिशा दिएका थिए ।
पहिलो हाफ १(१ गोलको बराबरीमा सकिए पनि खेल रोमाञ्चक बनेको थियो । धरानको जितका लागि विवेक राईले निर्णायक गोल गरे । उनी म्यान अफ दी म्याच घोषित हुँदै नगद ३ हजार पाउन सफल भए ।

आक्रामक खेलमा विवेकले दोस्रो हाफको २८औँ मिनेटमा गोल गरेर टोलीलाई फाइनल यात्रा गराए । फाइनल प्रवेशसँगै धरानले कम्तिमा ५१ हजार सुरक्षित गरेको छ ।
८ टिम सहभागी प्रतियोगिताको भोलि (बिहीबार) हुने अन्तिम सेमिपफाइनल खेलमा जलथल एफसी र तुर्केनी युथ एफसी काँकरभिट्टाले प्रतिस्पर्धा गर्नेछन् ।
शिवसताक्षी ७ को फाक्तेप फुटबल क्लबले आयोजना गरेको प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार र उपविजेताले ५१ हजार र ट्रफी पाउनेछ । प्रतियोगिताको फाइनल खेल मंसिर १८ गते हुनेछ ।