फिदिम । पाँचथरको रानीटारमा आयोजित तेस्रो फिदिम नगरकपको उद्घाटन खेलमा आयोजक र झापाले भिड्ने भएका छन् ।

 

आयोजक स्वतन्त्र क्लब रानीटार र झापाको अल इन वान सैनिक क्लब झापाबीच उद्घाटन खेलमा प्रतिस्पर्धा हुने भएको हो । आज (बिहीबार) आयोजकले सार्वजनिक गरेको टाइसिटअनुसार नेपालका ८ टिमसहित ९ टिम प्रतियोगितामा सहभागी छन् । एक टिम भारत सिक्किमको रहेको छ ।

 

पहिलो चरणमा पाँचथर क्लब पाँचथरले रेड स्टार क्लब झापा, योङ ब्वाईज क्लब इलामले कर्णसिं सोनाम मेमोरियल फुबटल क्लब ताप्लेजुङ, चर्च ब्वाईज क्लब काठमान्डौले पशुपति ११ इलामको सामना गर्ने तालिका छ ।

 

त्यस्तै छिमेकी राष्ट्र भारतबाट आउने पाण्डा स्पोटिङ क्लब सिक्किमले चर्च ब्वाईज र पशुपति ११ इलामबीचको विजेतासँग खेल्ने निश्चित भएको आयोजक क्लबका अध्यक्ष बलबहादुर गुरुंगले बताए ।

 

प्रतियोगिताको विजेता टिमले नगद एक लाख ५० हजार र उपविजेता टिमले नगद ८० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ ।