बिर्तामोड । टाइब्रेकरमा भाग्यमानी सावित हुँदै दमकको रोयल स्पोर्टिङ क्लबले आयोजक बिर्तामोड फुटबल क्लबलाई पराजित गरेको छ ।
पाहुना टोली रोयल स्पोर्टिङ क्लब दमकले आयोजक बिर्तामोडलाई टाइब्रेकरमा ४-२ गोलले हराउँदै तमु ल्होसार गोल्डकप अन्तर्राष्ट्रिय महिला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो ।
बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा भएको खेलको टाइब्रेकरमा दमककी गोलरक्षक सजिया क्षेत्रीले बिर्तामोडका २ वटा प्रहार रोकेकी थिइन् । उनले बिर्तामोडकी अनु राई र सुनकला राईको प्रहार रोकेकी हुन् ।
बिर्तामोडका लागि कप्तान खुस्मा राई र सुनिता घलानको प्रहारमात्र गोलमा परिणत भएको थियो भने दमककी छत्रिका चौधरी, सन्जु रार्य, इमा चम्लागाई र ममता राउतको प्रहार गोलमा परिणत भएको थियो ।
खेल अवधिभर दुवै टोलीले गोलरहित बराबरी खेलेपछि खेल टाइब्रेकरमा धकलिएको थियो । पहिलो हाफमा दुई टोलीले सामान्य खेल खेले पनि दोस्रो हाफमा आयोजक केही आक्रामक देखिएको थियो ।
भर्खरै बंगलादेशमा सम्पन्न यु १९ साफ महिला फुटबल खेलेकी कुसुम खतिवडा खासै चल्न नसक्दा आयोजकले गोल गर्ने अवसर गुमायो । खेलको १०औँ मिनेटमा कुसुमको क्रस दमककी गोलरक्षक सजिया क्षेत्रीले बचाइन् ।

त्यस्तै, खेलको १५ औँ मिनेटमा दमककी पार्वती राईको प्रहार बिर्तामोडकी गोलरक्षक झरना नगरकोटीले सेभ गरिन् । ३९औँ मिनेटमा दमककी ममता राउतको प्रहार गोलपोस्ट नजिकबाट बाहिरियो ।
खेलको प्लेयर अफ द म्याच दमककी गोलरक्षक सजिया क्षेत्री भइन् । उनलाई ओयोजक बिर्तामोड फुटबल क्लबका अध्यक्ष डिके गुरुङले नगद प्रदान गरे ।
दोस्रो संस्करणको प्रतियोगिताको विजेताले एक लाख ११ हजार १११ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ भने उपविजेताले ५१ हजार १११ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ ।
गुरुङ समुदायको महान चाड तमु ल्होसारको अवसरमा प्रतियोगिता आयोजना गरिएको हो ।