झापा । बिर्तामोडमा जारी तमु ल्होसार गोल्डकप अन्तर्राष्ट्रिय महिला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा पाँचथरको श्री सिंह सिद्धदेवी ङोलो क्लब र सुनसरीको धरान महिला फुटबल क्लब उपाधिका लागि भिड्ने पक्का भएको छ ।

 

बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको दोस्रो सेमिफाइनल खेलमा पाँचथरले मोरङको पथरी शनिश्चरे महिला एफसीलाई २-० को गोल अन्तरले पराजित गर्दै अन्तिम दुईमा स्थान पक्का गरेपछि उपाधि भिडन्तमा धरानसँग भेट भएको हो ।

 

धरानले हिजो रोयल एफसी दमकलाई टाइब्रेकरमा ३-२ गोलअन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरिसकेको थियो । उपाधि भिडन्त पुस १५ गते तमु ल्होसारको अवसरमा हुनेछ ।

 

खेलको ३६औँ मिनेटमा पाँचथरकी प्रिया कार्कीले गोल गर्दै टिमलाई अग्रता दिलाइन् । पथरीकी सरिता राईले पाँचथरकी अनिता लिम्बूलाई पेनाल्टी एरियाभित्र लडाएपछि पाएको पेनाल्टीमा कार्कीले गोल गरेकी हुन् ।

 

त्यस्तै, खेलको ४२औँ मिनेटमा मनिता लिम्बूले टिमका लागि दोस्रो गोल गरिन् । मनिताको प्रहार सम्झनलायक गोलमा परिणत भएको थियो । खेलको पहिला हाफमा पथरी हावी देखिए पनि दोस्रो हाफमा पाँचथर खेलमा फर्किएको थियो । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो । पहिलो हाफमा दुुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।

 

खेलको प्लेयर अफ द म्याच पाँचथरकी अनिता लिम्बू भइन् । उनलाई आयोजक बिर्तामोड फुटबल क्लबका अध्यक्ष डिके गुरुङले नगद प्रदान गरे ।

 

दोस्रो संस्करणको प्रतियोगिताको विजेताले एक लाख ११ हजार १११ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ भने उपविजेताले ५१ हजार १११ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ ।

 

गुरुङ समुदायको महान चाड तमु ल्होसारको अवसरमा प्रतियोगिता आयोजना गरिएको हो । फाइनल खेल पुस १५ गते तमु ल्होसारको दिन हुनेछ ।