रानिटार (पाँचथर) । रानिटारमा जारी प्रथम तमु ल्होसार महिला गोल्डकपमा आज झापाको बिर्तामोड र कनकाई एफसी विजयी हुँदै सेमिफाइनल प्रवेश गरेका छन् ।

 

आज भएको पहिलो खेलमा जनता सेभेल फुटबल क्लब ताप्लेजुङलाई ३-० गोलले हराउदै झापाको कनकाई नगरपालिका सेमिफाइनल प्रवेश गरेको छ । झापाको जितमा लक्ष्मी श्रेष्ठ, सञ्जु राई र ममता राउतले गोल गरे । एकतर्फी रहेको खेलमा झापाले ताप्लेजुङलाई सुरुदेखि नै दबाबमा राखेको थियो ।

 

खेलको ३४औं मिनेटमा झापाकी लक्ष्मी श्रेष्ठले गोल गर्दै कनकाईलाई अग्रता दिलाएकी थिइन् । लगतै ३८औं मिनेटमा सञ्जु राईले गोल गर्दै अग्रता दोब्बर पारिन् । दोश्रो हाफको इन्जुरी समयमा कनकाईकी ममता राउतले गोल गर्दै कनकाईलाई सेमिफाइनलको यात्रा गराइन् । पहिलो हाफमा केही अवसर पाएका सदुपयोग गर्न नसक्दा ताप्लेजुङ प्रतियोगिताबाट बाहिरियो ।

 

आजै भएको दोस्रो खेलमा कर्णसिं सोनाम स्मृति क्लब ताप्लेजुङलाई हराउँदै बिर्तामोड फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । जितसँगै बिर्तामोडले चिरपरिचित कनकाई नगरपालिकासंग भेट पक्का गरेको छ । बिर्तामाेडले २-० गाेलले पराजित गरेकाे हाे ।

 

कनकाई र बिर्तामोडले फाइनल प्रवेशका लागि भोलि (बुधबार) दिउँसो प्रतिस्पर्धा गर्नेछ । बिर्तामोडको जितमा सुजता घलान र कुसुम खतिवडाले गोल गरिन् । खेलको १६औँ मिनेटमा गोल कुसुमले बिर्तामोडलाई अग्रता दिलाएकी थिइन् । खेलको ४२औं मिनेटमा कुुुसुमले बिर्तामोडका लागि विजयी गोल गरिन् ।

 

बुधबार पहिलो सेमिफाइनल खेल आयोजक रानिटार युनाइटेड र धनकुटाको द सेभेन युथ क्लबले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको विजेताले नगद ५१ हजार पाउनेछ ।