झापा । बिर्तामोडमा जारी तमु ल्होसार गोल्डकप अन्तर्राष्ट्रिय महिला नकआउट फुटबल प्रतियोगिताको उपाधिका लागि आज दिउँसो पाँचथरको श्रीसिंह सिद्धदेवी ङोलो क्लब र सुनसरीको धरान महिला फुटबल क्लब भिड्दैछन् ।
बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा हुने फाइनल खेलको विजेताले नगद १ लाख ११ हजार १११ पाउनेछ । फाइनल प्रवेश गरेसँगै दुवै टोलीले कम्तिमा ५१ हजार सुरक्षित गरिसकेका छन् ।
पाँचथरले मोरङको पथरी शनिश्चरे महिला एफसीलाई २-० को गोल अन्तरले पराजित गर्दै अन्तिम दुईमा स्थान पक्का गरेको हो । पथरीलाई हराएसँगै उपाधि भिडन्तमा धरानसँग भेट भएको हो ।
धरानले रोयल एफसी दमकलाई टाइब्रेकरमा ३-२ गोलअन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको थियो । फाइनलिस्ट दुवै टोलीको समान संजोग के छ भने उनीहरु एकै खेल जितेर फाइनल यात्रामा सफल भएका हुन् । ६ टिम सहभागी प्रतियोगितामा पाँचथर र धरानले सोझै सेमिफाइनल खेल खेलेको थियो ।
बिर्तामोड फुटबल क्लबले आयोजना गरेको प्रतियोगिताको उपाधि कसले रक्षा गर्ला ? त्यो भने आजको भिडन्तबाट थाहा हुनेछ । गुरुङ समुदायको महान चाड तमु ल्होसारको अवसरमा प्रतियोगिता आयोजना गरिएको हो ।