बिर्तामोड । मोफसलकै प्रतिष्ठित फुटबल प्रतियोगिता झापा गोल्डकपको पाँचौं संस्करण आगामी फागुनमा हुने भएको छ । कोभिडका कारण दुई वर्षदेखि स्थगित गोल्डकप फागुन अन्तिम साता हुने भएको हो ।
गोल्डकप आयोजक समितिले आइतबार बिर्तामोडमा पत्रकार सम्मेलन गरी फागुन २१ देखि ३० गतेसम्म गोल्डकप आयोजना गर्न लागेको जानकारी दिएको छ । गोल्डकपको मितिलगायत विषयमा एन्फासँग सहमति भइसकेको गोल्डकपका संरक्षक तथा परिकल्पनाकार जलकुमार गुरुङले बताए ।
मोफसलकै प्रतिष्ठित प्रतियोगिताको रुपमा रहेको गोल्डकपमा झापा ११ एफसीसहित नेपालका ९ र एक विदेशी गरी १० टिमको सहभागिता रहने गोल्डकपका अध्यक्ष विनोद बस्नेतले जानकारी दिए । प्रतियोगितामा सहभागी हुने टिमको टुंगो लगाउने कार्य भइरहेको उनको भनाइ छ ।
गोल्डकपमा पुरस्कारहरु अघिल्लो वर्षकै कायम गरिएको छ । यस वर्ष पनि गोल्डकपको विजेता टिमले नगद १२ लाख ५५ हजार तथा उपविजेता टिमले नगद ६ लाख ५ हजार रुपैयाँसहित मेडल र ट्रफी प्राप्त गर्ने अध्यक्ष बस्नेतले बताए ।
गोल्डकपमा ुमस्ट भ्यालुएबल प्लेयरुलाई एक थान मोटरसाइकल प्रदान गरिने महासचिव गजेन्द्रबहादुर पौडेलले जानकारी दिए । प्रतियोगिताका उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकलाई जनही २१ हजार नगद तथा सर्वाधिक गोलकर्तालाई नगद २५ हजार रुपैयाँ प्रदान गरिने पौडेलले बताए । त्यस्तै प्रत्येक दिनको खेलका म्यान अफ द म्याचले नगद ९ हजार ९ सय ९९ रुपैयाँ प्राप्त गर्ने उनले बताए ।
गोल्डकपको उद्घाटन समारोहमा जिल्लाका दुई जना पुराना फुलबल खेलाडीलाई जनही १५ हजारसहित सम्मान गरिने अध्यक्ष बस्नेतले बताए । प्रतियोगिताका सबै खेलहरु बिर्तामोड नगरपालिका ३ बिर्ताबजारस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछन् । उद्घाटनका अवसरमा डोमालाल राजवंशीका परिवारलाई नगद २५ हजारसहित सम्मान गरिने भएको छ ।
गोल्डकप सम्पन्न गर्न एक करोड ४० लाख रुपैयाँ खर्च अनुमान गरिएको कोषाध्यक्ष केदार गिरीले बताए । आयोजक समितिका बरिष्ठ उपाध्यक्ष बलराम कार्कीले कार्यक्रममा स्वागत गरेका थिए ।