पोखरा । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लबले शानदार जित निकालेको छ । शनिबार भएको खेलमा मनाङले च्यासल युथ क्लबलाई ५-० गोल अन्तरले हराएको हो ।
मनाङलाई जित दिलाउन आफिज ओलावालेले ह्याट्रिक गोल गरे । यस्तै एडिलाजा सोमिडे र दिनेश राजवंशीले एक-एक गोल गरे ।
पोखरा रंगशालालाई होम मैदान बनाएको मनाङले यस सिजन तीन खेल खेलेको हो । जसमा मनाङ तीनै खेलमा विजयी भयो । मनाङले यस अघि नेपाल पुलिस र ब्रिगेड ब्वाइजलाई पोखरा रंगशालामा हराएको थियो । जितसँगै मनाङले ८ खेलमा १९ अंक जोडेको छ । मनाङ दोस्रो स्थानमा यथावत रहेको छ ।
यसैबीच, त्रिभुवन आर्मी क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा साँघुरो जित निकालेको छ । शनिबार भएको खेलमा आर्मीले न्युरोड टिम एनआरटीलाई १-० गोल अन्तरले हराएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आर्मीलाई जित दिलाउन दिनेश हेन्जनले निर्णायक गोल गरे । दिनेशले खेलको १७ औं मिनेटमा गोल गर्दै आर्मीलाई महत्वपूर्ण तीन अंक दिलाएका हुन्। जगजित श्रेष्ठको क्रसमा दिनेशले हेड मार्फत गोल गरेका हुन् ।
आर्मीले लगातार तीन बराबरी खेलेपछि महत्वपूर्ण जित निकालेको हो । यस जितसँगै आर्मीले ८ खेलमा १४ अंक जोडेको छ । आर्मी लिगको चौंथो स्थानमा रहेको छ ।