पोखरा । राष्ट्रिय टोलीका फरवार्ड तथा मनाङ मर्स्याङ्दी क्लबका कप्तान अन्जन विष्टले सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान २०७८ प्राप्त गरेका छन् ।

 

सहारा क्लबले उनलाई बिहीबार आहा रारा गोल्ड कप फुटबल प्रतियोतिगाको उद्घाटनका दौरान सम्मान गरेको हो । उनलाई सम्मान पत्र, ३५ हजार रुपैयाँ र दोसल्ला ओढाएर सम्मान गरिएको हो ।

 

यस्तै उद्घाटन समारोहमा खेल पत्रकार हिमेशरत्न बज्राचार्यलाई पनि सम्मान गरिएको थियो । बज्राचार्यले आहा रारा गोल्डकपको २०औं संस्करणसम्मको यात्राबारे पुस्तक प्रकाशन गरेका छन् ।

 

सहाराले पछिल्लो केही वर्षयता राष्ट्रिय टोलीबाट योगदान पुर्याउने एक खेलाडीलाई सम्मान गर्दै आएको छ । अन्जन पछिल्ले ८ वर्षदेखि राष्ट्रिय टोलीको महत्वपूर्ण सदस्य रहँदै आएका छन् । उनी २०७२ सालमा साफ यू १९ च्याम्पियन बन्दा टोलीका सदस्य थिए ।

 

अन्जनले राष्ट्रिय टोलीले २०७२ मै बंगबन्धु गोल्डकपको उपाधि जित्दा र सोही वर्ष यू २३ टोलीले १२औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जित्दा उनी टोलीका सदस्य थिए । त्यस्तै नेपालले २०७३ मा सोलिडारिटी कप जित्दा पनि उनी टोलीमा थिए ।

 

दुई वर्षअघि स्वदेशमा भएको १३औं सागमा नेपाली टोली च्याम्पियन बन्दा भने उनी टोलीमा थिएनन् । गतवर्ष थ्री नेसन्स कप जित्दा पनि उनी टोलीका सदस्य थिए । २३ वर्षे अन्जनले राष्ट्रिय टोलीबाट ७ गोल गरिसकेका छन् । सन् २०१४ मा फिलिपिन्सविरुद्ध खेल्दै उनले राष्ट्रिय टोलीबाट डेब्यू गरेका थिए ।

 

अन्जनको कप्तानीमा मनाङ जारी सहिद स्मारक ए डिभिजन लिगको नवौं चरणको समाप्तिसम्म दोस्रो स्थानमा रहेका थिए । लिगमा उनले ४ गोल गरेका छन् । मोफसलको प्रतिष्ठित आहा रारा गोल्डकपको २०औं संस्करण आज सुरु भएकाे छ ।

 

आहा गोल्डकपको विजेताले उपाधिसहित १० लाख १ हजार रुपैयाँ र दोस्रो हुनेले टोलीले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ ।