पोखरा । विभागीय टिम नेपाल एपीएफ क्लब २०औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको पहिलो क्वाटरफाइनलमा बीवाईएससी मिनेसोटा युएसएलाई ३-१ गोल अन्तरले हराउँदै एपीएफ अन्तिम चारमा पुगेको हो ।

 

पोखरा रंगशालामा रवी थिङ नायक बनेपछि एक गोलको अग्रता उल्टाएर एपीएफले जित निकालेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफको सुरुआतमै बीवाईएससीले अग्रता बनाएको थियो । खेलको ४७ औं मिनेटमा राइलीको क्रसमा मिगल पेलाफक्सले हेडरमार्फत गोल गर्दै बीवाईएससीलाई अग्रता दिलाएका थिए ।

 

तर, खेलको ७० औं मिनेटमा आवाश लामिछानेले पेनाल्टीमा गोल गर्दै एपीएफलाई १-१ गोलको बराबरीमा फर्काएका थिए । अर्मान्डलाई बीवाईएससीका हेक्टरले पेनाल्टी एरियामा फउल गर्दै लडाएपछि एपीएफले पेनाल्टीको अवसर पाएको थियो । जसमा आवाशले सहजै गोल गरे ।

 

खेलको ८४ औं मिनेटमा सब्सिच्युड खेलाडी रवीले गोल गर्दै एपीएफलाई २-१ को अग्रता दिलाए। त्यसपछि खेलको इन्जुरी समयमा रवीले व्यक्तिगत दोस्रो गोल गर्दै एपीएफलाई ३-१ को जित दिलाए । अब एपीएफले सेमिफाइनलमा संकटा क्लब र मछिन्द्र क्लबबीचको विजेतासँग खेल्नेछ ।

 

यस अघि एपीएफले पहिलो खेलमा आयोजक सहारा क्लबलाई २-० ले हराएर क्वाटरफाइनलमा स्थान बनाएको हो । बिवाइएसी युएसए भने सिधै क्वाटरफाइनल खेल्न लागेको हो ।

 

सहारा क्लब पोखराको आयोजनामा जारी प्रतियोगितामा कुल १० टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता टिमले १० लाख १ हजार र उपविजेता टिमले ५ लाख १ हजार प्राप्त गर्ने छ । यस वर्ष पनि स्वर्गीय सूर्यबहादुर केसीको स्मृतिमा उत्कृष्ट ५ विधाको पुरस्कार प्रदान गरिने छ ।

 

त्यस्तै सर्वोकृष्ट खेलाडीको प्रायोजन अप्रिला स्कुटरले गरेको छ भने सर्वाधिक गोलकर्ताको पुरस्कार हङकङ निवासी अधिवक्ता देव गुरुङले प्रायोजन गरेका छन् । खेलपाटीबाट