पोखरा । विभागीय टिम नेपाल एपीएफ क्लब पोखरामा जारी २०औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

 

बुधबार भएको पहिलो सेमिफाइनलमा १० खेलाडीमा सीमित मछिन्द्र फुटबल क्लबलाई ३-१ गोल अन्तरले हराउँदै एपीएफ उपाधि नजिक पुगेको हो । पोखरा रंगशालामा एपीएफलाई जित दिलाउन सनिश श्रेष्ठ, प्रदिप लामा र नविन लामाले एक एक गोल गरे । मछिन्द्रका ओमोलाजा करिमले एक गोल फर्काए ।

 

खेलको २५औं मिनेटमा सनिशले गोल गर्दै एपीएफलाई सुरुआती अग्रता दिलाएका थिए । उनले मणि लामाको फ्रिकिकमा हेडरमार्फत गोल गरेका हुन् । तर, खेलको ४०औं मिनेटमा ओमोलाजाले गोल गर्दै मछिन्द्रलाई १-१ को बराबरीमा ल्याएका थिए । उनले कप्तान रंजित धिमालको फ्रिकिकमा हेडरमार्फत गोल गरेका हुन् ।

 

खेलको ६९औं मिनेटमा प्रदिपले गोल गर्दै एपीएफलाई २-१ को अग्रता दिलाए । कप्तान नविन लामाको पासमा उनले उत्कृष्ट गोल गरे । यस्तै खेलको ७१औं मिनेटमा करिमले दोहोरो पहेँलो कार्डसहित रातो कार्ड पाउँदा मछिन्द्र १० खेलाडीमा समेटिएको थियो ।

 

त्यसपछि खेलको इन्जुरी समयमा कप्तान नविनले गोल गर्दै एपीएफलाई ३-१ को जित दिलाए । आवाश लामिछानेले प्रहार गरेको बल मछिन्द्रका गोलकिपर सुर्य अधिकारीले बचाएपछि प्राप्त रिबाउन्डमा उनले सहजै गोल गरेका हुन् ।

 

एपीएफ १४ वर्षपछि आहा राराको फाइनल पुगेको हो । यस अघि २०६४ मा एपीएफले फाइनल खेलेको थियो । अब एपीएफले फाइनलमा मनाङ मर्स्याङ्दी क्लब र त्रिभुवन आर्मी क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

 

सहारा क्लब पोखराको आयोजनामा जारी प्रतियोगिताको विजेता टिमले १० लाख १ हजार र उपविजेता टिमले ५ लाख १ हजार प्राप्त गर्ने छ । खेलपाटीबाट