पोखरा । मनाङ मर्स्याङ्दी क्लब पोखरामा जारी २०औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई पेनाल्टी सुटआउटमा ४-३ गोल अन्तरले हराउँदै मनाङ फाइनल पुगेको हो ।

 

पोखरा रंगशालामा खेलको निर्धारित ९० मिनेट र थप गरिएको अतिरिक्त समय गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टीमा भने मनाङले बाजी मार्यो ।

 

पेनाल्टी अघि दुबै टोलीले पाएको मौकामा गोल गर्न सकेनन् । पहिलो हाफमा मनाङका कप्तान विमल राना पेनाल्टीमा गोल गर्न चुकेका थिए । खेलको नवौं मिनेटमा प्राप्त पेनाल्टीमा विमलले बाहिर प्रहार गरे । आर्मीका डिफेन्डर युद्द शाहीले पेनाल्टी क्षेत्रमा ह्यान्ड गरेपछि मनाङले पेनाल्टीको अवसर पाएको थियो ।

 

अब मनाङले फाइनलमा विभागीय टोली नेपाल एपीएफ क्लबसँग प्रतिस्पर्धा गर्नेछ । मछिन्द्र फुटबल क्लबलाई ३(१ गोल अन्तरले हराएर एपीएफ उपाधि नजिक पुगिसकेको छ । फाइनल खेल शनिबार हुनेछ ।

 

सहारा क्लब पोखराको आयोजनामा जारी प्रतियोगिताको विजेता टिमले १० लाख १ हजार र उपविजेता टिमले ५ लाख १ हजार प्राप्त गर्ने छ । खेलपाटीबाट