पोखरा । २०औं आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि एपीएफ क्लबले चुमेको छ । टाइब्रेकरबाट उसले उपाधि चुमेको हो । निर्धारित समयमा २-२ गोलको बराबरी र अतिरिक्त समयको ३० मिनेटमा गोलरहित बराबरी खेलेपछि नतिजा टाइब्रेकरबाट निस्किएको हो ।
उसका लागि यो पहिलो पटकको उपाधि हो । च्याम्पियन बनेसँगै एपीएफले इतिहास पनि रचेको छ । स्पर्धी मनाङ मस्र्याङ्दी क्लबलाई टाइब्रेकरमा ५-४ गोलले पराजित गर्दै एपीएफले उपाधि रक्षा गरेको हो ।
पोखरा रंगशाला आयोजित प्रतियोगिताको फाइनल खेलमा पहिलो हाफ सकिदा एपीएफले १-० गोलको अग्रता बनाएको थियो । तर, कमब्याक गर्दै मनाङले दोस्रो हाफमा अग्रता बनायो । उसका लागि दोस्रो हाफमा २ गोल सम्भव भएको थियो ।
खेलको २०औं मिनेटमा युवराज खड्काले गोल गर्दै एपीएफलाई सुरुआती अग्रता दिलाएका हुन् । अर्मान्ड बिडोमको पासमा उनले गोल गरे । यस्तै पहिलो हाफमा मनाङका डिफेन्डर आदित्य चौधरी चोट बोक्दै मैदानबाट बाहिरिएका थिए ।
६ पटक उपाधि जितिसकेको मनाङ ७ औं पटक उपाधि आफ्नो पोल्टामा पार्ने योजनामा थियो भने एपीएफ पहिलो पटक उपाधि उचालेर इतिहास रच्ने दाउमा रहेको थियो।
तर, पहिलो हाफको २०औँ मिनेटमा पाएको अग्रता जोगाउन नसक्दा एपीएफ २-१ ले पछि परेको हो । मनाङका लागि खेलको ६७औँ मिनेटमा दयानन्द सिंहले हेडरमार्फत गोल गरेर एपीएफसँग बराबरीमा ल्याए । यस्तै, अफ्रिकन खेलाडी फ्रांकलिनले खेलको ८४औँ मिनेटमा गोल गरेर २-१ गोलले टिमलाई अगाडि बढाएर जीत नजिक पुराएका थिए ।
तर, अन्तिम ५ मिनेट सम्हालिन नसक्दा मनाङ फेरि एपीएफसँग बराबरीमा खुम्चिन पुग्यो । ५ मिनेटको इन्जुरी समयको पहिलो मिनेटमै एपीएफका रवि थिङले हेडर गोल गरेर फेरि टिमलाई खेलमा फर्काए ।
निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीले २-२ गोलको बराबरी खेलेपछि अतिरिक्त समयमा खेल धकेलिएको थियो । खेलको अन्तिमतिर दुवै टोलीले आक्रामक खेलेका थिए भने पाएको अवसरलाई गोलमा परिणत गर्न नसक्दा खेल अतिरिक्त समयतर्फ धकेलिएको हो ।
टाइब्रेकरमा एपीएफका कोरियन गोलकिपर युया कोरियामाले आफिज ओलावालेको प्रहार बचाएपछि एपीएफले पहिलोपल्ट आहा रारा गोल्डकपको उपाधिमात्र उचालेन, उसले इतिहास पनि रचेको छ । एपीएफका नविन लामा, सनिस श्रेष्ठ, रवि थिङ, मणी लामा, अर्मान्ड बिडोम पेनाल्टी सुटआउटमा सफल बने । मनाङको तर्फबाट फ्रेङ्कलिन टाला, दयानन्द सिंह, शिव गुरुङ, रुपेश केसीले गोल गरेका थिए ।
सहारा क्लब पोखराको आयोजनामा जारी प्रतियोगितामा १० टिमको सहभागिता रहेका थिए । प्रतियोगिताको विजेता टिमले १० लाख १ हजार र उपविजेता टिमले ५ लाख १ हजार प्राप्त गरेको छ ।