झापा । आज बसन्त पञ्चमी । माघ शुक्ल पञ्चमीका दिन विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा–अर्चना गरेर यो पर्व मनाउने गरिन्छ । वसन्त ऋतुको आगमनको सङ्केत गर्दै हनुमानढोका दरबारस्थित नासलचोकमा आज बिहान १० बजेर २३ मिनेटको साइतमा राष्ट्रपति विद्यादेवी भण्डरारीबाट वसन्त श्रवण गर्ने कार्यक्रम पनि रहेको छ ।

 

राजा प्रताप मल्लको पालादेखि हनुमानढोका दरबारको नासलचोकमा यस दिन वसन्त श्रवण हुँदै आएको छ । यस दिनलाई विद्या, बुद्धि, कला र संगीतको उन्नयनसँग गाँसिएको मौलिक पर्वका रूपमा लिने गरिन्छ ।

 

सरस्वती प्रकट भएको दिन अर्थात् सरस्वती जयन्ती मानेर आजकै दिन सरस्वतीलाई विद्याकी देवीका रूपमा पूजा–आराधना गर्ने प्रचलन वैदिककालदेखि चलिआएको छ । ज्ञानका स्रोत मानिने पुस्तकसहित संगीतका वाद्ययन्त्र तथा रङ्ग–कलाका साधनलाई समेत सरस्वतीकै स्वरूप मानेर पूजा गर्ने परम्परा छ ।

 

सरस्वती पूजाकै दिन बालबालिकाहरुको शिक्षारम्भ गर्ने र शिशुको नाक, कान छेडाउने प्रचलन पनि छ । संगीत प्रशिक्षणको सुरुवात यसै दिन गर्दा राम्रो हुन्छ भन्ने विश्वास छ । भगवान् कृष्णले गोपिनीसँग यही प्राकृतिक सौन्दर्यबीच रस–रङ्ग गरिएको गाथा मुख्य रूपमा यो काव्यमा छ ।

 

प्रत्येक वर्ष माघ शुल्क पञ्चमीको दिन गरिने सरस्वती पूजा विधिपूर्वक आज गरिँदैछ । यस अवसरमा विशेष गरी विद्यार्थी, लेखक, कवि, पत्रकार, कलाकारलगायतले सरस्वती, किताब, कपी, कलम, बाध्ययन्त्रलगायत साधनको पूजा गरिनेछ ।

 

विद्यालयमा विशेष रुपमा सरस्वतीको पूजा गर्ने गरेको यसवर्ष कोरोनाका कारण विद्यालय बन्द रहेकाले घरघरमा नै विद्यार्थीले सरस्वतीको पूजा आराधाना गर्दै छन् ।