काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा जित निकालेको छ । बुधबार भएको खेलमा पुलिसले च्यासल युथ क्लबलाई २-१ गोल अन्तरले हराएको हो ।

 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पुलिसलाई जित दिलाउन रबि शंकर पासवानले दुई गोल गरे । च्यासलका मौसा अबागानाले एक गोल फर्काए । प्रतिस्पर्धात्मक बनेको खेलको ३७ औं मिनेटमा मिडफिल्डर पासवानले गोल गर्दै पुलिसलाई सुरुआती अग्रता दिलाएका थिए ।

 

नीर कुमार राईले उपलब्ध गराएको बलमा पेनाल्टी क्षेत्रबाट उनले क्रस गरेको बलले सिधै पोस्टको जाली चुमेको थियो । तर, खेलको ५३औं मिनेटमा मौसाले पेनाल्टीमा गोल गर्दै च्यासललाई १(१ गोलको बराबरीमा ल्याएका थिए ।

 

पुलिसका कप्तान सुमन सुवेदीले ५१औं मिनेटमा रुमेश बर्तौलालाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि च्यासलले पेनाल्टीको अवसर पाएको थियो । त्यसपछि खेलको ७०औं मिनेटमा पासवानले व्यक्तिगत दोस्रो गोल गर्दै पुलिसलाई २(१ को जित दिलाए । सुमन लामाले उपलब्ध गराएको बलमा पासवानले पेनाल्टी क्षेत्र भित्रबाट उत्कृष्ट गोल गरे ।

 

त्यसबाहेक दुबै टोलीले अन्य गोलको अवसर खेर फालेका थिए । खेलको १६औं मिनेटमा पुलिसका निरकुमार राईको सशक्त प्रहार पोस्टको फ्रेममा पर्न सकेन । २४औं मिनेटमा पुलिसका तेज तामाङले करिब २० यार्ड टाढाबाट प्रहार गरेको बल पोस्टको नजिकबाट बाहिरिएको थियो ।

 

दोस्रो हाफमा पुलिसको तुलनामा च्यासलले बढी विपक्षीको पोस्टमा आक्रमण गरेको थियो । तर, च्यासल सफल भएन। ४८औं मिनेटमा च्यासलका सुजित बुढाथोकीले प्रहार गरेको बल पुलिसका गोलकिपर सत्रुघन चौधरीले सहजै नियन्त्रणमा लिए ।

 

यस जितसँगै पुलिसले ९ खेलमा १० अंक जोडेको छ । पुलिस लिगको दशौँ स्थानमा उक्लिएको छ । च्यासल ९ खेलमा ५ अंक जोडेर १३औं स्थानमा रहेको छ । खेलमा पुलिसका दुई गोलकर्ता रबि प्लेयर अफ दि म्याच चुनिए । च्यासलका आशिष राई इमर्जिङ प्लेयर चुनिए । खेलपाटीबाट