इलाम । अतिरिक्त समयमा भएको प्रदिप विष्टको गोल मद्दतले हेलिबोथ एफसी बिब्ल्याँटे मंगलबारेमा जारी प्रथम देउमाई गोल्डकप २०७८ को फाइनलमा प्रवेश गरेको छ ।
भानुभक्त माविको छात्रावास खेल मैदानमा आयोजित प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा चिरपरिचित प्रतिद्वन्द्वी ओएसिस एफसी इलामलाई १-० गोलअन्तरले पराजित गर्दै हेलिबोथले फाइनल यात्रा तय गरेको हो ।
खेलको निर्धारित समयमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । थप गरिएको १० मिनेटको अतिरिक्त समयको चार मिनेटमा हेलिबोथका प्रदिप विष्टले आकर्षक गोल गरेर टिमलाई फाइनलमा पुराए । थ्रो बलबाट पाएको ड्रप बललाई एयरबाटै प्रहार गरेको बलले सिधै जाली चुमेको थियो ।
निर्धारित समयमा दुवै टोलीले पाएको केही राम्रा अवसर खेर फालेका थिए । दुवै टोलीले गोल गर्न नसक्दा समर्थक निरश देखिन्थे । जितपछि हेलिबोथले कम्तिमा ५० हजार सुरक्षित गरेको छ । खेलको म्यान अफ दी म्याच हेलिबोथका गोलकर्ता प्रदिप विष्ट घोषितहुँदै नगद २ हजार पाउन सफल भए ।

युनाइटेड देउमाई युथ क्लबले आयोजना गरेको प्रतियोगितामा भोलि पाँचथरको फिदिम स्पोर्टिङ क्लब र इलामको भेनस एफसी फिक्कलबीच अन्तिम सेमिफाइनल हुनेछ । प्रतियोगिताको विजेताले नगद १ लाखसहित ट्रफी पाउनेछ ।