इलाम । इलामको भेनस एफसी फिक्कलले हेलिबोथ एफसी बिब्ल्याँटेसँग देउमाई ४ मंगलबारेमा जारी प्रथम देउमाई गोल्डकपको फाइनलमा भेट पक्का गरेको छ ।
भानुभक्त माविको छात्रावास खेलमैदानमा बिहीबार भएको अन्तिम सेमिफाइनल खेलमा स्पर्धी पाँचथरको फिदिम स्पोर्टिङ क्लबलाई टाइब्रेकरमा पराजित गर्दै भेनसले हेलिबोथसँग फाइनल भेट पक्का गरेको हो । भेनसले टाइब्रेकरमा २-० गोलले पराजित गर्दै पाहुना टोली पाँचथरलाई पाखा लगाएको हो ।
निर्धारित समयमा १-१ गोलको बराबरी खेलेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा पनि गोलरहित बराबरी खेलेपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएकोे हो ।
खेल सुरु भएको २ मिनेटमै भेनसका लागि सुसन कार्कीले गोल गर्दै अग्रता दिलाएका थिए । तर, फिदिमका लागि १६औँ मिनेटमा पाएको पेनाल्टीबाट खेलमा फर्किएको थियो । जसमा कप्तान गजेन्द्र राईले गोल गरेका थिए ।
पहिलो हाफमा दुवै गोल भएको थियो । त्यसपछिको समयमा दुवै टोलीले पाएको केही गोलका अवसर खेर पालेका थिए । जितसँगै भेनसले कम्तिमा ५० हजार सुरक्षित गरेको छ ।

खेलको म्यान अफ दी म्याच भेनसका गोलकिपर विवेक मगर घोषित भए । उनले नगद २ हजार पाए । उनले टाइब्रेकरमा फिदिमको २ प्रहार रोकेका थिए । युनाइटेड देउमाई युथ क्लबले आयोजना गरेको गोल्डकपको फाइनल शनिबार दिउँसो हुनेछ । विजेताले नगद १ लाखसहित ट्रफी पाउने छ ।