इलाम । हेलिबोथ एफसी बिब्ल्याँटे इलामले प्रथम देउमाई गोल्डकपको उपाधि जितेको छ । फिक्कलको भेनस एफसीलाई टाइब्रेकरमा पराजित गर्दै हेलिबोथले उपाधि रक्षा गरेको हो । हेलिबाेथ पहिलाे संस्करणकाे च्याम्पियन बनेकाे छ ।

 

निर्धारित समयमा दुवै टोलीले १-१ गोलको बराबरी खेलेपछि निर्णय टाइब्रेकरबाट लिइएको थियो । खेलमा पहिलो गोल हेलिबोथले नै गरेको थियो । तर, इन्जुरी समयको एक मिनेट सम्हालिन नसक्दा भेनसले बराबरी गोल गरेर खेलमा फर्किएको हो ।

 

पहिलो हाफको २३औँ मिनेटमा हेलिबोथका सुमन धमलाले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर, खेलको अन्तिम मिनेटमा भेनसका लागि शेखर राईले गोल गरेर बराबरी गरे । सचिन यल्मोले फ्रिकिकबाट मिलाइदिएको पासमा शेखरले गोल गरेका हुन् ।

 

टाइब्रेकरमा ४-२ गोलअन्तरबाट हेलिबोथ विजयी बन्यो । भेनसका कप्तान कुशल गुरुङ र शौरभ कार्कीको प्रहार बाहिरिएको थियो भने सचिन यल्मो र सुसन कार्कीको प्रहारमात्र गोलमा परिणत भयो ।

 

हेलिबोथका लागि केशव गुरुङ, प्रदिप विष्ट, अनिष थापा र अनमोल राईको प्रहार गोलमा परिणत हुँदा नगद १ लाखसहित ट्रफी उचाल्न सम्भव भएको हो । उपविजेता भेनसले ५० हजारमा चित्त बुझायो ।

 

युनाइटेड देउमाई युथ क्लबको आयोजनामा भानुभक्त माविको छात्रावास खेल मैदानमा आयोजित गोल्डकपमा ८ टोली सहभागी थिए ।