काठमाडौं । नेपालको फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को टिम झापा एफसीले मार्की खेलाडीमा अन्जन विष्टलाई अनुबन्ध गरेको छ ।

 

झापाले आइतबार पत्रकार सम्मेलन गर्दै राष्ट्रिय टिमका सदस्य अन्जनलाई मार्की खेलाडीको रुपमा अनुबन्ध गरेको हो । मिडफिल्डर अन्जन र झापाका महासचिव सुजन गौतमले सझौता पत्रमा हस्ताक्षर गरे । झापाले अन्जनलाई मार्की खेलाडीमध्ये अहिलेसम्मकै सर्वाधिक रकममा अनुबन्ध गरिएको जनाएको छ ।

 

सम्झौतापछि बोल्दै अन्जनले क्लबको सोचबाट प्रभावित भएर आफुले झापा रोजेको बताए । ‘क्लबका लागि सक्ने योगदान दिनेछु । बलियो टोली बनाउने छौँ । क्लबको सोचाइबाट प्रभावित छु । क्लब सकारात्मक रहेको पाएको छु । यहाँ विशेष वातावरण हुन्छ जस्तो लागेको छ’, अन्जनले भने ।

 

क्लबका महासचिव गौतमले नेपाली फुटबलका उत्कृष्ट खेलाडी रहेकाले अन्जनलाई अनुबन्ध गरिएको बताए । ‘झापाको क्लब भएकाले झापाका खेलाडी अनुबन्ध गर्ने सोचमा थियौं । तर, अन्जन नेपाली फुटबलका स्टार हुन् । हाम्रो लक्ष्य नेपाली फुटबल विकास गर्ने हो । उनलाई अनुबन्ध गर्न पाउँदा निकै खुसी छौं’, उनले भने ।

 

उनले अक्सनमा झापाली खेलाडीलाई प्राथमिकता दिने समेत बताए । झापा एनएसएलको नयाँ टोलीको हो । झापाले दोस्रो संस्करणको एनएसएल खेल्नेछ । पहिलो संस्करणमा अन्जनले ललितपुर सिटी एफसीको कप्तानी गरेका थिए ।

 

 

एनएसएलको दोस्रो संस्करण चैत २६ देखि जेठ ७ गतेसम्म आयोजना हुनेछ । दोस्रो संस्करणको प्रतियोगिता दुई शहरमा आयोजना हुनेछ । प्रतियोगिताका खेलहरु पोखरा र काठमाडौंमा हुनेछ ।

 

पहिलो संस्करण दशरथ रंगशालामा आयोजना भएको थियो । पहिलो संस्करणमा ७ टोलीले प्रतिस्पर्धा गरेका थिए । पहिलो संस्करणको उपाधि काठमाडौं रेजर्सले जितेको थियो। खेलपाटीबाट