काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) ले दोस्रो संस्करणमा प्रतिस्पर्धा गर्ने १० फ्रेन्चाइज टिमका लागि खेलाडीहरूको ‘अक्सन’ शुक्रबार गर्दै छ, जसका लागि उसले २४२ खेलाडीको सूची निकालेको छ । त्यसअघि नै ‘मार्की’ खेलाडीका लागि २२ जनाको नाम सार्वजनिक गरेको थियो । यो प्रक्रियामा खेलाडी र उनीहरू आबद्ध क्लबहरूको स्वीकृति नलिएपछि एनएसएल विवादित बनेको छ ।

 

सहिद स्मारक ‘ए’ डिभिजन लिगका क्लबहरूसँगको सम्झौता बाँकी छँदै एनएसएलका टिमहरूले ‘मार्की’ को रूपमा खेलाडी अनुबन्ध गरेपछि देशकै पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगितामा विवाद सुरु भएको हो । ए डिभिजन लिग च्याम्पियन मछिन्द्रसँगै, थ्रीस्टार, मनाङ मर्स्याङ्दी, एनआरटी, सातदोबाटो, संकटा, जावलाखेल र फ्रेन्ड्स क्लबका पदाधिकारीरसदस्यहरूले फागुन १५ मा विज्ञप्ति जारी गर्दै आफ्नो स्वीकृति लिएर मात्रै अन्य क्लब (एनएसएल टिम) लाई खेलाडी अनुबन्ध गर्न आग्रह गरेका थिए । त्यसलाई बेवास्ता गरेको भन्दै ती ८ क्लबले छलफलपछि मात्रै अक्सन गर्न माग गर्दै फागुन १८ मा एन्फालाई ध्यानाकर्षण गराएको थियो ।

 

त्यसैले अखिल नेपाल फुटबल संघ (एन्फा) ले ८ क्लबसँग बिहीबार बैठक गर्दै एनएसएललाई अक्सन रोक्न आग्रह गर्‍यो । तर, एन्फाको आग्रहलाई एनएसएलले अस्वीकार गरिदियो । एन्फाका महासचिव इन्द्रमान तुलाधरले भने, ‘क्लबहरूले आफ्ना खेलाडीहरू सम्झौता बाँकी भए पनि कुनै सल्लाह नगरी एनएसएलले लिएको र अक्सन गर्न खोजेको भनेपछि छलफलबाट निर्णय गरेर अक्सन रोक्न एनएसएललाई पत्र काटेका छौं, जानकारी दिएका छौं, अक्सन रोक्दा राम्रो हुन्छ भनेका छौं । एनएसएलले कुरा गर्न खुला छ, अक्सन गरेर त्यहीअनुसार जाउँला भन्यो ।’

 

‘हामीले त्यस्तो पत्र देखेका छैनौं, भोलि नगर्नुस् (अक्सन) भनेर एन्फा महासचिवले अनुरोध गर्नुभएको छ,’ एनएसएल आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्ट प्रालि (एनएसईएम) का प्रमुख कार्यकारी अधिकृत सुदीप शर्माले बिहीबार बेलुकी कान्तिपुरसँग भने, ‘हामी अक्सन गर्ने पक्षमै छौं । पहिलादेखि सूचना दिएकै हो । एन्फाले दिएकै सूचीअनुसार खेलाडीलाई अक्सनमा राखिएको हो । अन्तिम अवस्थामा आएर रोक्दैनौं ।’ उनले थपे, ‘अक्सन गर्नेबित्तिकै खेलाडी भोलि नै रोक्ने भन्ने होइन, सल्लाह गरेर अगाडि बढ्न खुला छौं ।’

 

‘ए डिभिजन लिग खेल्ने क्लबमा सबै खेलाडीको सम्झौता चैत (२०७८) सम्म छ । एनआरटी र मनाङमा लामो अवधिको सम्झौता गरेका खेलाडीहरू पनि रहेछन्,’ संकटा क्लबका अध्यक्षसमेत रहेका तुलाधरले भने, ‘चैतसम्म खेलाडीहरूले क्लबबाटै खेल्नुपर्छ, त्यसपछि मात्रै अक्सनमा जान पाइन्छ भन्ने क्लबहरूको कुरा हो ।’

 

उनले थपे, ‘एनएसएलले अक्सन रोकेन भने क्लबहरूले के गर्छ, एन्फाले के गर्छ भन्ने नै हो । अक्सन गरेर कुरा नमिल्ने भन्ने पनि होइन, तर आयोजक गम्भीर हुनुपर्छ । हमीले अप्रिय निर्णय लिनुपर्ने हुन सक्छ । त्यसैले अक्सन रोकेर २-४ दिनमा समस्या सुल्झाएर गरौं भनेको हो ।’ एन्फाले स्वीकृति दिएका मोफसलका ६ गोल्डकप (झापा, खप्तड, राजर्षि जनक, इटहरी, सिमरा र दमक) चैत १९ भित्रै सकिने पनि उनले बताए ।

 

क्लबहरूसँग सहकार्य गरेरै अगाडि बढ्ने दाबी गर्दै शर्माले भने, ‘क्लबको रिलिज भएन भने त्यो खेलाडी खेल्दैन (एनएसएलमा) । खेलाडी, क्लब र आयोजकले सहमति खोज्नुपर्छ ।’

 

एनएसईएम देशकै ठूलो व्यावसायिक घराना चौधरी ग्रुपको कम्पनी हो । उसले इन्डियन सुपर लिग (आईएसएल) को सिको गर्दै गत वर्ष एनएसएल सुरु गरेको थियो । यसपालि स्पोर्टिङ इलाम डे मेची, झापा एफसी र वीरगन्ज युनाइटेड थपिएपछि चैत २६ देखि जेठ ७ सम्म हुने दोस्रो संस्करणमा १० टिमले प्रतिस्पर्धा गर्ने भएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।