बिर्तामोड । झापा गोल्ड कपले ११२औँ अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको अवसर पारेर अखिल नेपाल महिला फुटबल संघ (एन्फा)की अध्यक्षलाई सम्मान गरेको छ ।

 

मंगलबार डोमालाल राजवंशी रंगशालामा भएको दोस्रो क्वाटरफाइनल खेलको मध्यान्तरमा संघकी अध्यक्ष बिन्द्रा देवानलाई नगद ११ हजार रुपैयाँसहित सम्मान गरिएको महासचिव गजेन्द्रबहादुर पौडेलले जानकारी दिए ।

 

लामो समयदेखि महिला फुटबलमा पुर्याएको योगदानको कदर गर्दै झापा गोल्ड कपले झापा दमक निवासी देवानलाई सम्मान तथा पुरस्कृत गरेको हो ।

 

देवानलाई कार्यक्रमकी प्रमुख अतिथि कांग्रेस नेतृ डा डिला संग्रौला, झापा गोल्ड कपका अध्यक्ष विनोद बस्नेत र कार्यक्रम संयोजक तिलोत्तमा खत्रीले सम्मानपत्र प्रदान गरेका थिए ।

 

आयोजकले आज मंगलबार महिला दर्शकलाई प्रवेश निःशुल्क गरेको थियो । कार्यक्रमको अध्यक्ष, प्रमुख अतिथि तथा सबै अतिथिहरु महिलाहरु मात्र थिए ।

 

त्यस्तै, फुटबल प्रतियोगितामा खटिएको महिला स्वयंसेवक, समितिका पदाधिकारी तथा सदस्यलगायतलाई नारी दिवसका दिनमा सम्मान जनाएको थियो ।