बिर्तामोड । त्रिभुवन आर्मी फुटबल क्लब झापा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार भएको खेलमा भारत दार्जिलिङको एमएफसीमाथि शानदार जित निकाल्दै आर्मीले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।
डोमालाल राजवंशी रंगशालामा भएको खेलमा एमएफसीमाथि आर्मीले ३–० कोे स्कोर निकाल्यो । जितसँगै तीन संस्करण जितेको आर्मीले आफ्नो साखलाई कायमै राखेको छ । आर्मीका लागि सन्तोष तामाङ, जर्ज प्रिन्स कार्की र विकास तामाङले एक/एक गोल गरे ।
खेलको १०औँ मिनेटमा सन्तोष तामाङको प्रहार गोलमा परिणत भयो । त्यस्तै, ३५औँ मिनेटमा कप्तान जर्ज प्रिन्स कार्कीले गोल थपे । उनले २३ यार्ड टाढाबाट गरेको प्रहार गोलमा परिणत भयो । त्यसैगरी, खेलको ६८औँ मिनेटमा आर्मीका विकास तामाङले अर्को गोल थपेर जित सुनिश्चित गरे ।
खेल अवधिमा दुवै टोलीले सम्झनलायक मुभ बनाउन सकेनन् । खेलको सुरुवाती १९औँ मिनेटमा एमएफसीका रोवर्ट खोन्जोले मैदानको मध्यभागबाट एकल प्रयासमा गरेको प्रहार पोस्ट नजिकैबाट बाहिरियो । ५२औँ मिनेटमा एमएफसीकै आदर्श तामाङले डिएरियाबाट गरेको हेडर पोस्ट माथिबाट बाहिरियो ।
६५औँ मिनेटमा आर्मीका विवेक बस्नेतको पासमा कमल थापाले डिएरियाबाट गरेको हेडर बार नजिकैबाट बाहिरयो । ७८औँ मिनेटमा एमएफसीका कप्तान प्रतीक लामाको क्रस पास रोबर्ट खोन्जोले सदुपयोग गर्न सकेनन् । ८६औँ मिनेटमा आर्मीका नवयुग श्रेष्ठको कडा प्रहर विपक्षी गोलरक्षक कुन्जाङ भुटियाले नियन्त्रणमा लिए ।
खेलको प्लेयर अफ द म्याच आर्मीका विकास तामाङ भए । उनले नगद ९ हजार ९९९ रुपैयाँ पाए । बिहीबारको खेल घरेलु टोली झापा ११ फुटबल क्लब र भारत सिक्किमको आरपी एफसीबीच हुने आयोजकले जनाएको छ ।
फागुन ३० गतेसम्म चल्ने प्रतियोगिताका विजेताले नगद १२ लाख ५५ हजार र उपविजेताले ६ लाख ५ हजार पाउनेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल पाउनेछ । सर्वाधिक गोलकर्ताले नगद २५ हजार पाउँदा उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डरले जनही नगद २१ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।