बिर्तामोड । बिर्तामोड नगरपालिका ५ नम्बर वडा खेलकुद विकास समितिको आयोजनामा भएको प्रथम प्रदेशस्तरीय ३×३ महिला तथा पुरुष बास्केटबल प्रतियोगिता बिर्तामोडमा सम्पन्न भएको छ ।

 

पूर्व सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरको प्रमुख आतिथ्यमा भएको प्रतियोगितामा पुरुषतर्फ हाम्रो कलेक्सन धरान विजेता बनेको छ । उसले टिम तरहरालाई पराजित गरेको हो ।

 

महिलातर्फ पनि टिम मेघा धरान प्रथम भएको छ भने टिम द होस्ट बिर्तामोड उपविजेता बनेको थियो । पुरुषतर्फ ९ टिम र महिलातर्फ ४ टिम सहभागी भएको आयोजकका सचिव विशाल अग्रवालले जानकारी दिए ।

 

पुरुषतर्फको विजेता टिमलाई नगद १५ हजार र महिलातर्फको विजेतालाई ५ हजार तथा पुरुषतर्फको उपविजेतालाई १० हजार र महिलातर्फको उपविजेतालाई नगद ३ हजारसहित ट्रफी प्रदान गरिएको छ ।

 

समितिका अध्यक्ष विशाल धिमालको अध्यक्षतामा भएको एक दिवसीय प्रतियोगितामा विजेता तथा उपविजेतालाई झापा बास्केटबल संघका अध्यक्ष प्रकाश लिङदेन, राष्ट्रिय टिमका कप्तान सदिश प्रधान, नेपाल बास्केटबल लिगका अध्यक्ष नमित थापा, राष्ट्रिय टिमका खेलाडी, वार्ड न ५ का जनप्रतिनिधिलगायतले पुरस्कार प्रदान गरेका थिए ।