सर्लाही । साविक विजेता हेटौँडाको पिप्ले युथ क्लब यहाँ जारी छैटौँ राजर्षि जनक कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सानदार जित दर्ता गर्दै पिप्ले अन्तिम चारमा प्रवेश गरेको हो ।

 

स्व. सन्तोष श्रेष्ठ खेलमैदानमा आइतबार भएको पहिलो क्वाटरफाइनल खेलमा ए डिभिजन क्लब हिमालयन शेर्पालाई ३-० गोलले पराजित गर्दै पिप्लेले अन्तिम चारमा स्थान सुरक्षित गरेको छ । पिप्लेका लागि पहिलो हाफमा १ र दोस्रो हाफमा २ गोल सम्भव भयो ।

 

प्रतिस्पर्धात्मक भएको खेलमा पिप्लेका रुपक लामाले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । खेलको १५औँ मिनेटमा पाएको फ्रिकिकमार्फत रुपक लामाले सम्झनलायक गोल गरे । हिमालयन शेर्पाका गोलरक्षक किशोर गिरीलाई कुनै मौका नदिइ रुपकले गोलपोष्टको जाली चुमाए ।

 

यस्तै, खेलको ४९औँ मिनेटमा पाएको अर्को फ्रिकिकमा पनि पिप्लेका कुलदिप कार्कीले आकर्षक गोल गरेर अग्रता दोब्बर बनाए । यसबीचमा हिमालयन शेर्पाले पाएको अवसर खेर गएको थियो । एउटा प्रहार पोष्टमा लागेर फर्कियो भने अर्को प्रहार क्रस बारबाट फर्किंदा हिमालयन शेर्पाले खेलमा फर्कने अवसर गुमाएको थियो ।

 

खेलको इन्जुरी समयमा रित्तिक खड्काले गोल गर्दै पिप्लेको गोलअन्तर फराकिलो बनाए । खेलको म्यान अफ दी म्याच पिप्लेका रुपक लामा घोषित भए । उनले नगद १० हजार पाए । सोमबारको दोस्रो क्वाटरफाइनल खेल सुदूरपश्चिम एफसी र नेपाल पुलिस क्लबबीच हुनेछ ।

 

 

बागमती युवा क्लब र बागमती नगरपालिकाको संयुक्त आयोजनामा भएको प्रतियोगिताको विजेताले नगद १० लाख रुपैयाँ पाउने छ । उपविजेताले नगद ५ लाखमा चित्त बुझाउनु पर्नेछ ।