सर्लाही । सुदूरपश्चिम ११ एफसी यहाँ जारी छैटौँ राजर्षि जनक कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । नेपाल पुलिस क्लबलाई सडन डेथमा पराजित गर्दै सुदूरपश्चिमले अन्तिम चारमा स्थान बनाएको हो ।

 

निर्धारित समयमा गोलरहित बराबरी खेलेको दुवै टोलीले टाइब्रेकरमा पनि समान ४-४ गोल गरेपछि निर्णय सडन डेथबाट लिइएको हो । सडन डेथमा ७-६ गोलले विजयी बन्दै सुदूरपश्चिम अन्तिम चारमा प्रवेश गर्यो भने पुलिस फर्किएको छ ।

 

निर्धारित समयमा पुलिसले पाएको अवसरमा गोल हुन सकेन । उसको प्रहार पटक पटक गोलपोस्टमा लागेर फर्किएको थियो भने सुदूरपश्चिमले दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरे पनि स्कोर गर्न सकेन । अन्ततः सुदूरपश्चिम सडन डेथमा भाग्यमानी सावित भयो ।

 

खेलको म्यान अफ दी म्याच सुदूरपश्चिमका गोलरक्षक आकाश बुढा घोषित भए । उनले नगद १० हजार पाए । सडन डेथमा उनले २ वटा पुलिसको प्रहार रोक्नुका साथै एउटा गोल पनि गरेका थिए । मंगलबारको तेस्रो क्वाटरफाइनल खेल आयोजक बागमती युवा क्लब र न्यूरोड टिम (एनआरटी) बीच हुनेछ ।

 

 

बागमती युवा क्लब र बागमती नगरपालिकाको संयुक्त आयोजनामा भएको प्रतियोगिताको विजेताले नगद १० लाख रुपैयाँ पाउने छ । उपविजेताले नगद ५ लाखमा चित्त बुझाउनु पर्नेछ ।