दमक । गोर्खा ब्वाइज क्लब रुपन्देही झापाको दमकमा जारी दमक गोल्डकपको क्वारटफाइनलमा प्रवेश गरेको छ । बिहीबारको खेलमा दुर्गापुर सन्डे क्लब कोलकातालाई पराजित गर्दै गोर्खा ब्वाइज क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

 

पाहुना टोलीलाई ५-० गोलको फराकिलो अन्तरले पराजित गर्दै गोर्खा ब्वाइजले जित निकालेको हो । गोर्खा ब्वाइजको जितमा यानिकले ह्याट्रिक पूरा गरे । गोर्खा ब्वाइजका लागि सुसन तामाङ र सुनिल खड्काले एक/एक गोल गरे ।

 

गोर्खा ब्वाइजले खेलको दोस्रो मिनेटमै खाता खोलेका थियो । मैदानको मध्यभागबाट मिक्चेन तामाङको क्रसमा यानिकले गरेको प्रहार गोलमा परिणत भएको थियो । खेलको २०औँ मिनेटमा यानिकले गोर्खा ब्वाइजले अग्रतालाई दोब्बर बनाए ।

 

खेलको ५१औँ मिनेटमा सुशन तामाङले गोल थपे । उनले विपक्षी गोलरक्षक अघि बढ्दा सहज गोल गरे । खेलको ७०औँ मिनेटमा सुनिल खड्काले चौथो गोल गरे । यस्तै, खेलको इन्ज्युरी समयमा यानिकले व्यक्तिगत तेस्रो र टिमका लागि पाँचौँ गोल गरे । खेलमा दुर्गापुरले पाएका अवसरलाई सदुपयोग गर्न नसक्दा घर फर्कियो ।

 

दमक नगरपालिकाको दमक नगर खेलकुद विकास समितिको आयोजनमा भएको बिहीबारको खेलमा विजयी गोर्खा ब्वाइजका यानिक म्यान अफ दी म्याच भए । उनले नगद १० हजार प्राप्त गरे ।

 

शुक्रबारको पहिलो क्वाटरफाइनल खेल बागमती युथ क्लब सर्लाही र मनाङ मस्र्याङ्दी क्लबबीच हुनेछ । गोल्डकपको विजेताले नगद १३ लाख पाउनेछ ।