झापा । झापाको हल्दीबारी गाउँपालिका १ गोलधापस्थित चिल्ड्रेन्स गार्डेन एकाडेमीमा अध्ययनरत १३ वर्षीया छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका १० निवासी ५० वर्षीय शिक्षक श्रीप्रसाद शिवाकोटी (सन्दीप) रहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ । ती छात्रालाई शुक्रवार दिउँसो विद्यालयभित्रै शिक्षक शिवाकोटीले यौनजन्य दुर्व्यवहार गरेको आरोप लागेको छ । स्थानीयका अनुसार विद्यालयमा परीक्षा परीक्षा सकेर घर जाँदै गरेकी छात्रालाई शिक्षक शिवाकोटीले यौनजन्य दुर्व्यवहार गरेका थिए ।
यौन दुर्व्यवहारमा परेको भन्दै पीडित छात्राले विद्यालयका अन्य शिक्षकसहित अभिभावकलाई तत्काल जानकारी गराएकी थिइन् । आक्रोशित बनेका अभिभावक र छिमेकीहरू घटना बुझ्न विद्यालय पुगेका थिए । उनीहरूले यौनजन्य दुर्व्यवहार गर्ने शिक्षकलाई तत्काल कानुनी कारबाहीको माग गर्दै विद्यालय घेराउ गरेका थिए । आक्रोशित भीडले विद्यालयको मे १ क ७८७ नम्बरको स्कुल बस तोडफोड गरेका छन् ।
यता घटनालगत्तै प्रहरी चौकी गोलधाप र जिल्ला प्रहरी कार्यालय झापाको प्रहरी टोली घटनास्थल पुगेको थियो । घटना बुझेपछि प्रहरीले शिक्षक शिवाकोटीलाई शुक्रवार बेलुका घरबाटै पक्राउ गरेको छ । उनलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।
पीडित बालिकाको परिवारजनबाट किटानी जाहेरी परेपछि मात्र घटनाको विषयमा थप जानकारी गराउने जिल्ला प्रहरी कार्यालयका डिएसपी बसन्त पाठकले जानकारी दिए ।