सर्लाही । हेटौडाको पिप्ले युथ क्लब यहाँ आयोजित छैटौ राजर्षि जनक कप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । पिप्ले पाँचौ संस्करणको विजेता पनि हो ।

 

फाइनल भिडन्तमा हेटौडाले ए डिभिजन लिग च्याम्पियन मछिन्द्र एफसीलाई सडनडेथमा स्तब्ध बनायो । निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । यस्तै, टाइब्रेकरमा पनि समान ३-३ गोलको बराबरी खेलेपछि खेलको निर्णय सडनडेथबाट निस्किएको हो ।

 

सडनेथमा हेटौडा भाग्यमानी सावित हुँदै फेरि राजर्षि जनक कपको च्याम्पियन बन्यो । मछिन्द्रलाई ४-३ गोलअन्तरले पराजित गर्दै हेटौडा च्याम्पियन बनेको हो । च्याम्पियन बनेको हेटौडाले नगद १० लाख पायो भने उपविजेताले नगद ५ लाखमा चित्त बुझाएको छ ।

 

फाइनल खेलको म्यान अफ दी म्याच विजेता टोली हेटौडाका गोलरक्षक अशोक बराल घोषित भए । उनले नगद १० हजार पाए ।

 

 

बागमती युवा क्लब र बागमती नगरपालिकाले आयोजना गरेको प्रतियोगितामा भारतका २ सहित १२ वटा टोली सहभागी थिए ।