विराटनगर । सिरहा गोलबजारको प्रतिभा फुटबल क्लब झापामाथि सहज जितका साथ दोस्रो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।

 

विराटनगरस्थित जुट मिलको खेलमैदानमा बुधबार भएको खेलमा दमक एकाडेमी झापालाई ६-१ गोलको फराकिलो अन्तरले हराउँदै गोलबजार फाइनलमा पुगेको हो । जितका लागि गोलबजारका कुलदेव काकी, अलमान, संजिव कार्कीले गोल गरे । गोलबजारका विदेशी खेलाडी अलमानले एक्लै तीन गोल गरेका थिए ।

 

जितसँगै गोलबजारले शुक्रबार हुने फाइनल खेलमा साइनो स्पोर्टस क्लब रानी विराटनगरसँगै प्रतिस्पर्धा गर्नेछ । पहिलो हाफदेखि दबाबमा राखेकोे गोलबजारले खेल सुरु भएको तीन मिनेटमै गोल गरि अग्रता लिएको थियो ।

 

पहिलो हाफमै दुई गोलले पछि परेको अवस्थामा झापाले खेलको १३औं मिनेटमा राजन धिमलले गोल फर्काएका थिए । पहिलो हाफको अतिरिक्त समयको अन्तिम क्षणमा आत्मघाती गोल भएपछि गोलबजारले ३-१ गोलले अग्रता लिएको थियो ।

 

खेलको म्यान अफ द म्याच गोलबजारका ह्याट्रिक गर्ने विदेशी खेलाडी अलमान घोषित भए । उनले नगद पाँच हजार प्राप्त गरे ।