इटहरी । सगरमाथा युथ क्लब विराटचोकले १२औं संस्करणको इटहरी गोल्डकपको उपाधि जितेको छ । इटहरी रंगशालामा शनिबार भएको फाइनल खेलमा साविक विजेता त्रिभुवन आर्मी फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ४-३ गोल अन्तरले हराउँदै सगरमाथा युथ क्लब च्याम्पियन बनेको हो ।

 

प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टीमा गएको थियो । पेनाल्टीमा सगरमाथाका अशोक खवास, आशिष लामा, शत्यम शर्मा र मिलन राईले गोल गरे । गोलकिपर प्रिसोले भने बाहिर प्रहार गरे । जितसँगै सगरमाथाले इटहरी गाेल्डकप इतिहास रचेकाे छ ।

 

पेनाल्टीमा आर्मीका टेकबहादुर बुढाथोकी, विकाश खवास र विवेक बस्नेतले गोल गरे । गौतम श्रेष्ठको प्रहार सगरमाथाका गोलकिपर प्रिसोले बचाए भने सन्तोष तामाङले बाहिर प्रहार गरे । उपाधिसँगै सगरमाथाले नगद ७ लाख प्राप्त गरेको छ भने उपविजेता आर्मीले ३ लाख ५० हजार प्राप्त गरेको छ ।

 

यस अघि सगरमाथाले सेमिफाइनलमा मनाङ मर्स्याङ्दी क्लबलाई ४(२ गोल अन्तरले हराएको थियो । आर्मीले रोलिङ क्लब झापालाई हराएको थियो ।