मेचीनगर । झापाको मेचीनगरमा आयोजित प्रथम केएफटिसी सिटी लिग यु-१४ फुटबल प्रतियोगिताको उपाधि ह्याप्पी क्लबले जितेको छ । काँकरभिट्टा माविको खेलमैदानमा सम्पन्न फाइनल खेलमा संगम फुटबल क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै ह्याप्पीले उपाधि चुमेको हो । उपाधिसंगै ह्याप्पीले नगद ५० हजारसहित ट्रफि प्राप्त गर्यो । उपविजेता बनेको संगमले ३० हजारसहित ट्रफिमा चित्त बुझायो ।

 

अत्यन्तै रोमाञ्चक बनेको फाइनल खेलमा ह्याप्पीका देवशिस श्रेष्ठले खेलको ४२औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । खेलमा उत्कृष्ट प्रदर्शनी गरेका श्रेष्ठ नै म्यान अफ द म्याच घोषित । त्यस्तै उदयीमान खेलाडीको रुपमा ह्याप्पीकै युगल श्रेष्ठ घोषित भए । उनीहरूले नगदसहित गिफ्ट हेम्पर प्राप्त गरे ।

 

जेठ १४ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा संगम फुटबल क्लबका विवेश खत्री उत्कृष्ट गोलकिपर घोषित हुँदा रिकेश घिमिरे उत्कृष्ट डिफेन्स घोषित भए । उनीहरुले ३ हजार एक सय प्राप्त गरे । ह्याप्पीका देवशिस श्रेष्ठ उत्कृष्ट फरवार्ड घोषित हुँदा क्लासिक वारियर्सका प्रनिश राई उत्कृष्ट मिडफिल्डर घोषित भए । उनीहरुले समान ३ हजार एक सय प्राप्त गरे ।

 

त्यस्तै ह्याप्पीका राज दर्जी उत्कृष्ट खेलाडी घोषित भई ५ हजार एक सय प्राप्त गर्दा ह्याप्पीकै आदित्य ढुङ्गेल सर्वाधिक गोलकर्ता बने । उनले ४ हजार एक सय प्राप्त गरे । यता उत्कृष्ट मार्की खेलाडी घोषित हुँदै क्लासिकका सुजन बेस्राले एक थान गियर भएको साइकल प्राप्त गरे । त्यस्तै उत्कृष्ट प्रशिक्षकको रुपमा विजेता टिमका दिपक कार्की घोषित भए उनले ३ हजार एक सय प्राप्त गरे ।

 

समापन समारोहका प्रमुख अतिथि मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकी, विशिष्ठ अतिथि उपप्रमुख मीना पोखरेल उप्रेती, मेचीनगर ६ का वडाध्यक्ष ललितबहादुर तामाङलगायतले शुभकामना मन्तव्य राखेका थिए ।