अर्जुनधारा । अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेव सिंह गोम्देनले शैक्षिक गुणस्तर उकास्नका लागि स्थानीय सरकार सकारात्मक रहेको बताएका छन् ।

 

अर्जुनधारा ११ स्थित सालबारीमा रहेको महारानीगञ्ज माविमा स्थापित पुस्तकालयको उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै नगर प्रमुख गोम्देनले विद्यालयको शैक्षित गुणस्तर उकास्न शिक्षक शिक्षिकासँगै अभिभावक पनि जागरुक हुनुपर्नेमा जोड दिए ।

 

‘हामी विद्यालयमा लगानी तयार छौँ, तपाईंहरु आफ्नो ठाउँबाट शैक्षिक गुणस्तरमा लाग्नुस्’, उनले भने, ‘तर, सकारात्मक नतिजा आउनुपर्छ, अन्यथा सरी भन्नुको विकल्प हुनेछैन ।’ राम्राे नतिजा दिन नसकेकाे खण्डमा सहयाेग गर्न नसकिने पनि उनले स्पष्ट पारे । राम्राे नतिजाका लागि सेवा सुविधा दिन तयार रहेकाे पनि उनले सुनाए ।

 

गुणस्तरीय शिक्षामा विद्यालय व्यवस्थापन समितिलाई जोड दिन आग्रह गरेका उनले राम्रो रिजल्ट निकाल्न शिक्षकहरुलाई लगानी गर्न नगर सकारात्मक रहेको पनि बताए । बिना तनाव विद्यार्थीलाई अध्यापन गराउन शिक्षकसँग आग्रह गरेका उनले सरकारी र बाेर्डिङ भन्दै आफ्ना नानीहरूलाई शिक्षा लिने बालअधिकारमा विभेद नगर्न पनि अनुराेध गरे ।

 

विद्यालयका प्रधानाध्यापक मनबहादुर लिम्बूले स्वागत गर्दै अब ११ र १२ कक्षा सञ्चालनका लागि नयाँ जनप्रतिनिधिले पहल गरिदिन आग्रह गरे । विद्यालयमा भौतिक संरचना पनि भएकाले कक्षा सञ्चालनको अनुमतिका लागि आग्रह गरेका हुन् ।

संघीय सरकारको सशर्त अनुदान ६ लाख ५० हजारसहित ६ लाख ८५ हजार ३७५ रुपैयाँको लागतमा सञ्चालनमा ल्याइएको पुस्तकालयमा ४५० प्रकारका ९ सयभन्दा बढी पुस्तक रहेको प्रधानाध्यापक लिम्बूले जानकारी दिए ।

 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रोहितमान ढकालको अध्यक्षतामा आयोजित कार्यक्रममा निवर्तमान नगर प्रमुख हरिकुमार राना, उपप्रमुख खड्गमाया पराजुली, वडाध्यक्ष खगेन्द्र इङनाम, प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राई, विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष लवकुश गिरीलगायतले आफ्ना भनाइ राखेका थिए ।

 

विद्यालयका शिक्षक सूर्य सापकोटाले स्वागत गरेको कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक लीलाधर चौँलागाईले गरेका थिए ।