पाँचथर । प्रधानाध्यापक नै शैक्षिक वातावरण बिगार्न उद्दत रहेको भन्दै फिदिम नगरपालिका १० को सिद्वदेवी आधारभूत विद्यालय प्रशासनमा अभिभावकले ताला लगाएका छन् ।
प्रधानाध्यापक कुसुमहाङ थाम्सुहाङले व्यवस्थापन व्यवस्थापन समिति विघटन गर्नुका साथै पठनपाठनमा प्रत्यक्ष प्रभाव पारेको, आर्थिक अनियमितता गरेको लगायत आरोप लगाउँदै बिहीबार मध्याह्न विद्यालयमा ताला लगाइएको हो ।
थाम्सुहाङले विद्यालयको रिक्त दरबन्दीमा सरुवा भएर आएकी स्थानीय रिता तुम्बापोलाई चार महिनादेखि हाजिर गर्न नदिइ हुकुमी शासन चलाएकाले पनि ताला लगाइएको स्थानीय अविभावक चन्द्र लिम्बूले बताए ।
थाम्सुहाङले भने प्रक्रिया नपुर्याई सरुवा भएर आएकाले हाजिर हुन नदिएको प्रतिक्रिया जनाएका छन् । शिक्षिका तुम्बापोलाई कुनै पनि हालतमा हाजिर हुन नदिने थाम्सुहाङको अडान छ । सरुवा भएर आएकी शिक्षिकालाई हाजिर गराउनुको सट्टा विद्यालयको दरबन्दी नै हटाउनुपर्ने थाम्सुहाङको तर्क छ । इकान्तिपुरबाट