झापा । सोमबार रातिदेखिको झरी अझै रोकिएको छैन । भोलि दिउँसोसम्म झरी पर्ने सम्भावना रहेको मौसमविद् वरुण पौडेलले बताए । उनका अनुसार केही ठाउँमा आज पानी पर्न रोकिए पनि केहीबेर पछि फेरि पर्नेछ । भोलि दिउँसोपछि भने मौसममा केही सुधार आउने उनले जानकारी दिए ।

 

हिजोदेखि नै तराई र पहाडी जिल्लामा ठूलो वर्षा भइरहेको छ । विशेष गरी लुम्बिनी, मधेस, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा अति ठूलो पानी परिरहेको मौसमविद् पौडेलले बताए । उनका अनुसार पछिल्लो २४ घण्टामा प्युठानमा १ सय ४० मिलिमिटर पानी परेको छ ।

 

यस्तै, पोखरामा १ सय ६४, पाल्पामा १ सय ४८, नेपालगञ्जमा १ सय ४५, दाङमा १ सय ३५, रौतहटमा १ सय ६ र कैलालीमा ९५ मिलिमिटर वर्षा मापन भएको छ । एक सय मिलिमिटरभन्दा धेरै पानी पर्नुलाई अति भारी वर्षा भन्ने गरिन्छ ।

 

यसैबीच, लगातारको झरीले बाढी, पहिरो तथा डुबानको जोखिम रहेकाले सतर्कता अपनाउन मौसमविद्को आग्रह छ । यस्तै, यात्रा गर्दा पनि मौसम र सडकको अवस्थाबारे बुझेर मात्रै यात्रा गर्न आग्रह गरिएको छ ।

 

पछिल्लो ३ घण्टा कास्की, स्याङ्जा, पाल्पा, कपिलवस्तु, रुपन्देही, अर्घाखाँची, नवलपरासी, प्युठान, दाङ, बाँके, कैलाली कञ्चनपुर, रुकुम, जाजरकोट, सुर्खेत बारा, रौतहट, महोत्तरी, सर्लाही, काठमाडौँ र आसपास धेरै स्थानमा ठुलो वर्षा भइरहेको छ ।

 

यी स्थानमा थप वर्षा हुने भएकाले उक्त जिल्ला भएर बहने साना नदीमा आकस्मिक बहावको उच्च सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले तटीय क्षेत्रमा अर्को ६ घण्टा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।