झापा । टुवान याङ टेरुतमा (टीवाईटी) कप फुटबलको दोस्रो खेलमा नेपालको ‘ए’ डिभिजन क्लब न्युरोड टिम (एनआरटी) ले फराकिलो हार ब्यहोरेको छ ।

 

मलेसियाको पेनाङ सिटी रंगशालामा शनिबार भएको खेलमा एनआरटी मलेसियन सुपर लिग क्लब पेनाङ एफसीसँग ५-० ले पराजित भएको हो ।

 

पहिलो हाफमा दुई गोल खाएको एनआरटीले दोस्रो हाफमा थप तीन गोल व्यहोरेको थियो । पेनाङको जितमा लुकास सिल्भाले ह्याट्रिकसहित ४ गोल गरे । सराभानले एक गोल थपे ।

 

यस अघि बिहीबार भएको खेलमा एनआरटी इन्डोनेसियाको लिग टु क्लब कारो एफसीसँग ५(१ गोल अन्तरले पराजित भएको थियो । नेपाललाई हराएसँगै पेनाङ टीवाईटी कपको च्याम्पियन बनेको छ ।

 

पेनाङ शहर प्रमुख मिस्टर याङले पद बहाली ग्रहण गरेको पहिलो बार्षिकोत्सवको अवसरमा प्रतियोगिता आयोजना गरिएको हो ।

 

एनआरटीले ए डिभिजन लिगको तयारी स्वरुप ‘प्रि-सिजन’ अन्तर्गत प्रतियोगिता खेलेको हो । अब एनआरटीले थाइल्याण्डको भ्रमण गर्नेछ । थाईल्याण्डमा एनआरटीले ३ मैत्रीपूर्ण खेल खेल्नेछ ।