लिलक सिटौला,
हाम्रो देश नेपालमा साउनभरि केही गर्नु हुँदैन, पूजापाठ, विवाह, ब्रतबन्ध अर्थात् हिन्दुहरुले गर्ने कर्म केही गर्नु हुँदैन भन्ने एउटा पुरानो कहावत थियो । तर, समाजमा त्यो बेलै पनि आआफ्नो परम्पराअनुसार जसले जे गर्दा पनि हुन्थ्यो । पछिल्लो समाज, त्यसमा हामी र हाम्रा अग्रजहरु पर्दछन् । असारमा धान रोप्ने चटारो, रोपेपछि धान रोपेको ठाउँमा असाध्य फल्नेमा परेछ । मुसा साथै चरा चुरुंगीहरुलाई समेत पुग्ने धान फल्दथ्यो, त्यो बेलामा ।
असार वा साउनको पहिलो हप्तामा रोपाइँ सकेपछि, साउन महिनामा खसी वा विभिन्न जातजातिहरुले खानेकुरा खाएर असारको रोपाइँ भुल्ने गरेको मेरै जीवनमा मैले नै पाएको थिएँ ।
तर, हाल आएर बोलबम अर्थात् शिवशंकर भगवानको पूजा तथा आराधना गर्ने चलन हिन्दूहरुमा बढेको छ । खासगरी साउनभरि माछामासु र रक्सीको सेवन हिन्दु धर्मावलम्वीहरुले गर्दैनन्, र पनि खाने मानिसले खाएरै छाड्छन् ।
त्यो बेला शिव भगवान मस्त निन्द्रामा ध्यानमग्न हुनुहुन्छ भन्थे । चलाउन हुँदैन भन्ने कुराहरु सुनेको थिएँ । तर, यो बेलामा सुनेका शिवलाई खोजी खोजी भेट्ने संस्कारको विकास भएको छ । जेहोस्, राम्रो भएको छ । भगवानले गुफा पस्नु हुँदैन भन्ने आम हिन्दुहरुको चाहना बुझियो । भक्त र भगवानको सम्बन्ध अति उत्तम राखिएको हाम्रो इतिहास र पुराणहरुमा भेटिएको छ ।
खासगरी साउन महिनामा हाम्रो समाजको त्यति काम भएको हुँदैन । आर्थिक, राजनीतिक अर्थात् समाजका विभिन्न पक्षको खाली महिना साउन हो ।
नारीहरुले साउने चुरा हरियो लगाउने चलन पनि बढेको छ । हामी नेपाली अर्थात् नेपालबासी शिकारी अवस्थाबाट कृषि युगमा प्रवेश गरेको सन्दर्भमा आयस्रोत भएको खण्डमा धेरै पर्वहरु मनाउने अवस्थामा तराइदेखि मधेश, पहाड र हिमालसम्म फैलिएको शिव सन्देशलाई मान्नुपर्छ । यो अद्भूत विकास भएको छ । हिन्दु धर्मावलम्वीमा यो सुखद पक्ष पनि हो ।
यस पर्वमा कसैले खाएर मनाउँछन्, कसैले नखाइ । जे भए पनि हिन्दुहरुको आत्मीयताको विभाजन नभइ एकताको रुपमा साउने पर्व मनाउने चलन नेपालदेखि भारत, अहिले त विश्वभरि मनाउने चलन आएको छ ।
जहाँ शिवजीको बास छ, पशुपतिनाथ, गाईघाट, बागमती नदी आदि इत्यादिहुँदै हाम्रो शनिश्चरे बजार अर्थात् अर्जुनधाामा रहेको पूर्वको पशुपतिनाथको नामले परिचित जलेश्वर मन्दिरमा समेत विभिन्न नदीबाट ल्याएको जल ओम नमोः शिवाय भन्दै शिवलिंगमा चढाउने संस्कृतिको विकास भएको छ ।
यो आफैँमा राम्रो कुरा पनि हो । हिन्दुको नाममा जुनसुकै संगठन होस्, त्यो हिन्दु धर्मको पालना र प्रचार रहनेछ । चाहे खसीदेखि लिएर अरु जनावर मारेर साउने संक्रान्ति मनाउने होस्, चाहे ब्रत लिएर मनाउने सबै हिन्दुहरुको आस्था भएको मैले पाएको छु ।
मेरो विषय अर्को नै थियो । अर्को हप्तादेखि आउँछ । मेरो भाइ समदर्शी (रमेश)ले दाइ साउनको महिना आयो, तपाईले लेखेको शनिश्चरे बजार अर्थात् तपाईको भोगाइ आफ्नो ठाउँमा छ । साउनको बारेमा लेखिदिनु न भन्दा लेखेको छु । मलाई लेख्न प्रेरणा दिने भाइ रमेश समदर्शीलाई धन्यवाद ।
– शनिश्चरे, झापा