काठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लबका कप्तान भरत खवास सेनाको सहसेनानी (क्याप्टेन) मा बढुवा भएका छन् । भरत १० वर्षअघि नेपाली सेनामा प्रवेश गरेका थिए । भरतलाई भद्रकालीस्थित सैनिक मुख्यालयमा आइतबार सैनिक वायु सेवाका प्रमुख उपरथी आशिष नरसिंह राणाले दर्ज्यानी चिन्ह प्रदान गरेका थिए ।

 

झण्डै डेढ दशकअघि राष्ट्रिय टोलीमा डेब्यू गरेका भरत बंगलादेशविरुद्ध अर्को महिना स्वदेशमा हुने मैत्रीपूर्ण खेलका लागि आइतबार राष्ट्रिय टोलीको प्रशिक्षणमा समेटिएका छन् । उनी प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको आगमनपछि टोलीमा परेका थिएनन् ।

 

भरतले आजको दिन आफ्नो लागि भाग्यशाली भएको बताए । ‘आजै बढुवा भए । आजै राष्ट्रिय टोलीमा पूनरामगनको मौका पाए । यो मेरो लागि भाग्यशाली दिन हो’, उनले भने,‘ राष्ट्रिय टोलीको त क्याप्टेन भइसकेको थिएँ । सेनाको पनि भएँ । अब फुटबलमा आफूलाई फेरि एक पटक प्रमाणित गर्नुपर्नेछ । हाम्रो परिवारलाई आज साह्रै खुसी छ ।’

 

सहायक सेनानीबाट सेनामा प्रवेश गरेका भरत २०७२ सालमा उपसेनानीमा बढुवा भएका थिए । भरत त्रिभुवन आर्मी फुटबल क्लबको पनि कप्तान रहँदै आएका छन् । हाम्राे खेलकुदबाट