झापा । अखिल नेपाल फुटबल संघ (एन्फा) ले झापा भद्रपुरका युगलकिशोर राईलाई राष्ट्रिय टोलीको सहायक प्रशिक्षकमा नियुक्त गरेको छ । बंगलादेशविरुद्ध असोजमा हुने मैत्रीपूर्ण खेलका लागि एन्फाले राईलाई नियुक्त गरेको प्रवक्ता सुरेश शाहले जानकारी दिए ।

 

राईले गतवर्षको लिगमा हिमालयन शेर्पा क्लबलाई प्रशिक्षण दिएका थिए । राष्ट्रिय टोलीका पूर्वस्ट्राइकरसमेत रहेका राईको प्रशिक्षणमा धनगढी एफसी गतवर्ष नेपाल सुपर लिग (एनएसएल) को फाइनल पुगेको थियो ।

 

सहायक प्रशिक्षक नियुक्त भएको सोमबार नै जानकारी पाएको उल्लेख गर्दै राईले भने, ‘पहिला राष्ट्रिय टोलीमा पर्नका लागि खेलाडीको रुपमा मेहनत गरिन्थ्यो । अहिले काम गर्दै जाँदा राष्ट्रिय टोलीको सहायक प्रशिक्षकको जिम्मेवारी पाइयो । यसलाई अवसरको रुपमा लिएको छु ।’

 

त्यस्तै, एन्फाले गोलकिपर प्रशिक्षकमा विनोद डंगोललाई नियुक्त गरेको छ । मनाङ मस्र्याङ्दी क्लबका पूर्वगोलकिपर डंगोल भने लिगमा मनाङकै गोलकिपर प्रशिक्षक रहेका थिए ।

 

एन्फाको साउन २६ गते बसेको केन्द्रीय समितिको दोस्रो बैठकले प्रदीप हुमागाईंलाई कार्यवहाक मुख्य प्रशिक्षक नियुक्त गरेको थियो । राईले धनगढीलाई प्रशिक्षण दिँदा हुमागाईं भने एनएसएलमा ललितपुर सिटी एफसीको प्रशिक्षक थिए । उनको नेतृत्वमा टोलीले सन्तोषजनक प्रदर्शन गर्न नसकेपछि बर्खास्त गरेको थियो । यद्यपि, उनले बर्खास्तअघि आफूले राजीनामा दिइसकेको दाबी गरेका थिए ।

 

नेपालबाहिर रहेका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले २६ खेलाडीलाई प्रशिक्षणमा डाक्न एन्फालाई अनुरोध गरे पनि एन्फाले आइतबार ४० खेलाडीलाई प्रारम्भिक छनोटमा बोलाएको थियो ।

 

हुमागाईंले युवा र अनुभवी खेलाडी समेट्दै ४० सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका हुन् । टोलीमा अलमुताइरीले बाहिर राखेका कप्तान किरण चेम्जोङसहितका १० खेलाडी समेत समावेश रहेका छन् ।