अर्जुनधारा । झापाको खुदुनाबारीमा महिला फुटबल प्रतियोगिता हुने भएको छ । प्रदेश १ का ८ वटा टिम सहभागी गराएर अर्जुनधारा ३ स्थित प्राकृतिक खेल मैदानमा महिला फुटबल प्रतियोगिता हुने भएको हो ।
स्थानीय च्यारिटी युथ क्लब (सीवाईसी) र जुनतारा महिला फुटबल क्लबको संयुक्त आयोजनामा दसैँ लक्षित फुटबल आयोजना गर्न लागिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्रतियोगिताको फाइनल खेल फूपातीको दिन हुने मूल आयोजक समितिकी अध्यक्ष हिमा मगरले बताइन् ।
आयोजकका अनुसार यस क्षेत्रमा महिला खेलकुदका गतिविधि नभइरहेको अवस्थामा महिला खेलाडीलाई प्रोत्साहन दिँदै महिला खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो । यस्तै, पुरुषसँग सहकार्य गर्दै महिला खेलाडीको उत्थान गर्न पनि फुटबल प्रतियोगिता गरिएको अध्यक्ष मगरले बताइन् ।
सीवाईसीको आयोजनामा यसअघि २०७४ र ०७५ मा खुदुनाबारी गोल्डकप सम्पन्न भइसकेको छ । यसै गोल्डकपलाई निरन्तरता दिने क्रममा यसवर्ष महिला फुटबल प्रतियोगिता आयोजना गरिएको अध्यक्ष मगरले जानकारी दिइन् ।
क्लबका उपाध्यक्ष तथा खेल संयोजक याम खवासका अनुसार प्रदेश १ का ८ वटा जिल्लाका महिला टिम प्रतियोगितामा सहभागी हुनेछन् । उदयपुर, धनकुटा, सुनसरी, मोरङ, झापा, इलाम, पाँचथर र ताप्लेजुङको टिम सहभागी गराउन समन्वय भइरहेको बताइएको छ ।
१४ लाख ५६ हजार ६६६ रुपैयाँ खर्च हुने प्रारम्भिक अनुमान गरिएको प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार १११ र ट्रफी पाउने प्रतियोगिताको उपविजेताले नगद ५५ हजार ५५५ र ट्रफी पाउने छ । अन्य विधागत पुरस्कार पनि व्यवस्था गरिएको बताइएको छ ।
पत्रकार सम्मेलनमा अर्जुनधारा ३ नम्बर वडाका अध्यक्ष सीताराम भट्टराईले महिलाहरुको हक हितसँगै खेलाडी उत्पादन गर्ने लक्ष्य लिएर आयोजना गरिएको प्रतियोगितालाई सक्दो सहयोग गर्ने बचन दिएका छन् । यस्तै, अर्जुनधारा नगर कार्यपालिकाकी सदस्य चन्द्रा तामाङ, जुकेखाडी सामुदायिक वनका पर्यटन उपाध्यक्ष दिपक दुलाललगायतले आफ्ना भनाइ राखेका थिए ।
प्रतियोगिता सम्पन्न गर्नका लागि १०१ सदस्यीय मूल आयोजक समिति गठन गरि जिम्मेवारी बाँडफाँड गरिएको बताइएको छ । हिमा मगरको अध्यक्षतमा गठित समितिको उपाध्यक्षमा सुर्य इम्बुङ (व्यवस्थापन संयोजक), उपाध्यक्ष याम खवास (खेल तथा कार्यक्रम संयोजक), सचिव लिला बल्लभ खतिवडा (आर्थिक संयोजक), सहसचिवमा तेजमाया (पार्वता) राई (अतिथि सत्कार संयोजक), कोषाध्यक्ष सन्ध्या रिजाल (स्वयं सेवक परिचालन) रहेकी छन् ।
यस्तै, अनुगमन संयोजकमा शुक्रराज (दिपक) दुलाल, लेखा संयोजकमा कञ्चन काफ्ले, सल्लाहकार संयोजकमा ढुण्डिराज गौतम र प्रचार प्रसार तथा सांस्कृतिक संयोजकमा साजन तामाङ छन् ।