झापा । अर्जुनधारा नगरपालिकामा रहेको पर्यटकीय क्षेत्र सुखानी सहिद स्मृति उद्यान (सालबारी झिल) झनै मनमोहक बनेको छ । म्युजिकल कलर फाउन्टेन जडान गरिएपछि यसको सुन्दरता अझ मनमोहक बनेको छ । यसले आन्तरिक तथा बाह्य पर्यटकलाई आफूतर्फ खिचेको छ ।

 

गत आर्थिक वर्ष ०७८/०७९मा संघीय सरकार अन्र्तगतको पर्यटन मन्त्रालयबाट विनियोजन भएको ५० लाखसहित जम्मा ५५ लाख ९७ हजार एक सय १६ रुपैयाँको लागतमा जडान गरिएको उक्त फाउन्टेनको शुक्रबार साँझ सुखानी सहिद स्मृति प्रतिष्ठान नेपालका प्रमुख संरक्षक एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए ।

 

संगीतको धुनमा पानीको रंगिन फोहरा अवलोकन गर्न पोखरी नजिक पाँच हजार ५५७ वर्ग फिट प्यारापिट पनि निर्माण गरिएको छ । उक्त प्यारापिट प्रदेश सरकार पर्यटन मन्त्रालयको २० लाखसहित जम्मा २२ लाख ९० हजार एक सय ३३ रुपैयाँको लागतमा निर्माण गरिएको प्रतिष्ठानका सहायक व्यवस्थापक योगेन्द्र रिजालले जानकारी दिए ।

 

 

न्याय, समानता र प्रजातन्त्रको बहाली गर्ने आन्दोलनको सिलसिलामा झापा र इलामको सीमानामा रहेको सुखानी जंगलमा २०२९ साल फागुन २१ गते शहादत प्राप्त गरेका पाँच जना शहीद रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेनसिंह राजवंशी, कृष्ण कुँइकेल र नारायण श्रेष्ठको स्मृतिमा प्रतिष्ठानले उक्त उद्यानको निर्माण गरेको हो ।

 

२२ दशमलव ४ हेक्टर क्षेत्रफलमा रहेको उक्त उद्यानमा यसअघि पाँच सहिदको पूर्ण कदको शालिकसहितको उद्यान, डुंगा शयर, कछुवा उद्धार तथा संरक्षण केन्द्र, बाल उद्यानआदि रहेको छ । उद्यानमा म्यूजिकल कलर फाउन्टेन जडान भएसँगै त्यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई थप आकर्षित गर्ने र मनोरञ्जन प्राप्त हुने प्रतिष्ठानको अपेक्षा छ ।

 

 

उद्घाटन गरिएको उक्त फाउन्टेन पूर्णरुपमा सञ्चालनमा ल्याउन भने केही समय लाग्ने प्रतिष्ठानका सहायक व्यवस्थापक रिजालले जानकारी दिए । “रातको समयमा सञ्चालन गर्नुपर्ने भएको हुँदा आवश्यक कार्यविधि निर्माणको प्रक्रियामा छ, त्यसपछि सञ्चालनमा ल्याउनेछौं, उनले स्पष्ट पारे ।