झापा । पूर्वाधार अभाव रहेको बिर्तामोड नगरपालिका वडा नम्बर १० मा रहेको चमरधाप आधारभूत विद्यालयमा ‘बिर्तामोड राउण्ड टेवल २७’ ले दुई वटा पक्की कक्षा कोठा निर्माण गरिदिएको छ । कक्षा अभावमा विद्यार्थीको अवस्था दयनीय भएको पाइएपछि राउण्ड टेवलले कक्षा कोठा निर्माण गरिदिएको हो ।

 

राउण्ड टेवलले आज बिहान पत्रकार सम्मेलन गरी कक्षा कोठा निर्माणबारे अवगत गराएको हो । विद्यार्थीको सुविधाका लागि दुईवटा कक्षा कोठा निर्माण गरिएको बिर्तामोड राउण्ड टेवल २७ का अध्यक्ष अमित अग्रवालले बताए ।

 

२४ लाख रुपैयाँभन्दा बढीको लागतमा दुईवटा कक्षाकोठा र विद्यालय परिसरको पाँच कठ्ठा जग्गामा कम्पाउण्ड वाल निर्माण गरिएको राउण्ड टेवलका सूचना अधिकारी दीपक मित्तलले बताए । उनका अनुसार यसवर्ष विद्यालयमा दुईवटा शौचालय र शुद्ध खानेपानी व्यवस्थापन गर्ने लक्ष्य राखिएको छ । कक्षाकोठा, वाल कम्पाउण्ड निर्माणमा २४ लाख १५ हजार ३८३ रुपैयाँ खर्च भएको जनाइएको छ ।

 

यसैबीच, भदौ १३ गते बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाई र राउण्ड टेवल नेपालका अध्यक्ष आनन्द वायतिले संयुक्तरुपमा नवनिर्मित कक्षा कोठा विद्यालयलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।

 

पूर्वाधार व्यवस्थापन अभावमा विद्यार्थीको संख्या नघटोस् भन्ने उद्देश्यले कक्षा कोठा बनाएर विद्यालयलाई हस्तान्तरण गर्न लागिएको निवर्तमान अध्यक्ष समित सहेवालाले बताए । उनका अनुसार कक्षा कोठा निर्माणका लागि बिर्तामोड नगरपालिकासहित विभिन्न बैँक तथा वित्तीय संघसंस्थाले सहयोग गरेका छन् ।